कोशी राजमार्ग अन्तर्गत बूढीगंगा–१ टंकीसिनवारीमा मोटरसाइकले ठक्कर दिँदा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको बूढीगंगा गाउँपालिका–१ घर भएका सशस्त्रका असइ ४२ वर्षीय कमलप्रसाद तावाहाङ रहेका छन्।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीका अनुसार पाँचथरमा कार्यरत तावाहाङ केही दिनदेखि घर विदामा थिए।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ६१ प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। पैदल हिँडिरहेका बेला राति ९:४० बजेतिर दुर्घटनामा परेर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो।
टाउकोमा चोट रहेका तावाहाङको उपचारका क्रममा आइतबार बिहान १ बजेतिर मृत्यु भएको डीएसपी कार्कीले बताए।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक सप्तरी रुपनीका २५ वर्षीय आजबुल मियाँको खोजी जारी रहेको जानकारी उनले दिए।