लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ।
आइतबार भएको खेलमा वेस्ट ह्यामसँग ३-० ले पराजित हुँदै लेस्टरले सिजनको पहिलो हार व्यहोरेको हो।
लेस्टरकाे घरेलु मैदान किङ पावर स्टेडियममा भएकाे खेलमा वेस्टह्यामका मिकेल एन्टेनियो, पाब्लो फोर्नल्स र जरोड बोवेनले गोल गरे।
पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो।
खेलको १४औँ मिनेटमा माइकल एन्टेनियोको गोलबाट लेस्टर पछि परेको थियो। आरोना क्रेसवेलको क्रसमा एन्टेनियोले हेडरमार्फत जाली चुमाएका थिए।
तुलनात्मक रुपमा कमजाेर देखिएकाे लेस्टरले ३४औँ मिनेट अर्काे गाेल खायाे। वेस्टह्यामका आरोन क्रेसवेलको लामो पासमा पाब्लो फोर्नल्सले गोल गर्दै अग्रता दोब्बर पारे।
दुई गोलले पछि परेको लेस्टरले त्यसपछि बल पोजेसनमा बलियो पकड बनाएपनि वेस्टह्यामको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन।
८३औँ मिनेटमा जारोड बोवेनले गोल गर्दै लेस्टरलाई ३–० को लज्जास्पद हार चखाए। पाब्लो फोर्नल्सको पासमा बोवेनले गोल गर्न सफल भएका थिए।
जितपछि वेस्टह्यामले चार खेलबाट ६ अंक जोडेको छ। पराजित लेस्टरले एभर्टनसँगको अंक बराबरी गर्ने अवसर गुमाएको छ। लेस्टरको ४ खेलबाट ९ अंक छ।