प्रधानमन्त्री केपी ओली र अभिनेता अमिताभ बच्चनबीचको समानता

प्रधानमन्त्री के पी ओली र भारतीय अभिनेता अमिताभ बच्चनबीच के कुरामा समानता हुन् सक्ला? पेशा, परिवेशदेखि लिएर यावत कुरामा दुबैको व्यक्तित्व नितान्त फरक छ। तर मुखले एउटा बोल्ने, काम अर्कै गर्ने। दु:खमा साथ दिएको मान्छेलाई सुख आउना साथ् बिर्सने र आफूलाई सहयोग गर्ने मान्छेलाई धोका दिने कुरामा दुबैको ब्यक्तित्व मिल्छ। जसरी ओलीले राजनीतिमा आफूलाई स्थापित गर्न सहयोग गर्ने मान्छेलाई धोका दिएका छन्, त्यस्तै बच्चनले पनि दु:खमा साथ दिने ब्यक्तिको सत्यानास गर्न बाँकी राखेका छैनन्। 

प्रसँग ओलीको आउदा– तेह्रथुमको एउटा गरिब परिवारमा जन्मेका ओलीलाई कम्युनिस्ट नेता रामनाथ दाहालले झापा आफ्नो घरमा ल्याएका हुन्। दाहाल कै घरमा बसेर सानोतिनो काम गर्दै लामो समय बिताएका ओलीले आजसम्म दाहालले आफूलाई गरेको सहयोगको बारेमा बोलेका छैनन्। लामो समय आफूसँगै राखेर राजनीतिको कखरा सिकाउने मोहनचन्द्र अधिकारीको गुन पनि कहिले सम्झेका छैनन्। त्यस्तै नख्खु जेलमा बस्दा दिसा–पिसाबसमेत सफा गरेका सहकर्मी राधाकृष्ण मैनालीलाई पनि उनले पटक पटक धोका दिएका छन्। 

मैनालीका अनुसार मदिराका सौखिन ओलीले गृह मन्त्री भएपछि बिभिन्न बिचौलियाहरुले दिएको सित्तैको रक्सी यति सेबन गरे कि उनको दुवै मिर्गौला नै खत्तम भयो। राजनीतिक जीवनमा ओली यति डरछेरुवा थिए कि कथित कम्युनिस्ट आन्दोलनको "बेसिक क्वालिफिकेसन" मानिने तोडफोड, आगजनी जस्ता क्रियाकलापमा उनको कुनै सहभागिता रहेन। मिहिनेत गर्ने बेलामा लुक्ने र फाइदा हुने बेलामा फुत्त निस्कने ओलीको विशेषता नै रह्यो। मदन भण्डारीको हत्या वा दुर्घटनामा प्रमुख भूमिका रहेको आरोप लागेका ओलीले आफू देशको सर्बोच्च पदमा रहँदा चुँसम्म नबोल्नु रहस्यमय छ। यद्धपि सत्तामा नहुँदा यिनकै कार्यकर्ताले आन्दोलनको नाममा सरकारी भौतिक सम्पत्तिको ठूलो क्षति गरेका छन्। जसको जिम्मेवारी यिनले लिनु पर्छ। पदमा नहुँदा हत्या भएको हो र आफूले सत्ता प्राप्त गरेको एक महिनामा छानबिन गरेर दोषी पत्ता लगाउने भनेर बम्किने तर सत्ता प्राप्त गरेपछि यो बारेमा कुनै कुरै नगर्ने गर्दा पनि यिनको नियत कस्तो रहेछ भनेर जो सुकैले आंकलन गर्न सक्छन्। यसको साथै निर्मला पन्त बलात्कार काण्डपछि पिडिताको आमा–बुवासँग गरेको गैरजिम्मेवार कुराकानी, श्रीमती जलाएर मार्नेलाई छोराको स्याहार गर्न अदालतले छोडेको जस्तो कतै नहुने निसाफको बिरोध भएपछिको उनको अभिव्यक्तिले पनि उनमा कुनै संवेदना नभएको मान्छे रहेछ भनेर बुझ्न गाह्रो पर्दैन। 

अब कुरा गरौँ बच्चनको– सबैलाई इज्जत गर्ने, मिठो बोल्ने र आफूलाई सँधै ‘लो प्रोफाइल’ मा देखाउन खोज्ने स्वभाव यिनको हात्तिको देखाउने दाँत मात्र हो। चपाउने दाँतमा यिनी ‘जुन थालमा खायो, त्यही थालमा प्वाल पर्ने बेइमान’ किसिमका छन्। उनको बारेमा एउटा कथन छ– ‘कोही ऐसा सगा नही जिनको बच्चन ने ठगा नही’ अर्थात कुनै यस्तो नजिकको मित्र छैन जसलाई बच्चनले धोका नदिएको होस्। चार वटा सिनेमा लगालग फ्लप हुनु र भारतमा यिनको कम्पनीले आयोजना गरेको विश्व सुन्दरी प्रतियोगितामा ठूलो घाटा हुनुले यिनको कम्पनी अमिताभ बच्चन कर्पोरेसन लिमिटेड अर्थात एबीसीएल दिवालिया घोषित भयो। जसको फलस्वरूप साधारण सेयरधनिबाट उठाएको करिब दुई सय करोड रुपैयाँको दायित्व यिनको टाउकोमा आयो। सबै बैंक खाता शुन्यमा झरेकोले यिनी कङ्गाल हुन पुगे।

यस्तो अबस्थामा यिनलाई तन, मन र धनले सहयोग गर्नेहरुमा थिए, सहारा इण्डिया परिवारका मालिक सुब्रोतो राय, रिलायन्स कम्पनीका मालिक अनिल अम्बानी र उत्तर प्रदेश समाजबादी पार्टीका नेता तथा अर्बपति ब्यापारी अमर सिंह। राय र अम्बानीले ऋण दिएको एक–एक सय करोड रुपैयाँ र सिंहको राजनीतिक प्रभावले बच्चन उक्त समस्यालाई सहजै समाधान गर्न सफल भए। 

जब आफू समस्याबाट मुक्त भए यिनले राय, अम्बानी र सिंहको साथ् छोड्दै गए। साथ् छोडेको मात्र भए कुनै ठूलो कुरा हुन्थेन, उनले यिनीहरुसँग लिएको ऋणको एक पैसा पनि तिरेनन्। त्यसैको फलस्वरूप राय र अम्बानीको सबै सम्पत्ति स्वाहा भयो र यिनीहरु दुबै कङ्गाल भए। रायको कम्पनी दिबालिया भएर करिब ६० हजार करोडको घोटाला गरेको अभियोगमा हाल जेलमा छन्। अम्बानीले हालै अदालतमा मेरो सबै पैसा सकियो र मसँग एउटा सानो कार मात्र बाँकी छ तर त्यसमा पेट्रोल हाल्ने पैसा पनि म सँग छैन भनेर दिएको ह्रदय विदारक बयान बाहिर आएको छ। साथै सिंहको क्यान्सर रोगको कारण मृत्यु भइसकेको छ। जसमा बच्चनले एउटा सानो सम्बेदनाको शब्दसम्म बोलेनन। त्यस्तै आफूलाई सिनेमामा स्थापित गराउन सहयोग गर्ने सलमान खानका पिता तथा लेखक सलिम खान, टिनु आनन्द, प्राण, कादर खान र परबिन बाबीलाई यिनले समय–समयमा दिएको धोका र आफूसँगै अभिनय गर्ने त्यसबेलाका सफल कलाकार बिनोद खन्नाको भूमिका सिनेमाहरुमा छोटो बनाउन अनेक तिकडम गरेको कथा बिभिन्न सञ्चार–माध्यमहरुले उजागर गरेका छन्। यी कथाहरु कति सत्य वा असत्य थिए, त्यो सम्बन्धित ब्यक्तिहरुलाई मात्र थाहा होला तर बच्चनको तर्फबाट कुनै स्पष्टिकरण नआउनुले यी सबै कुरा सत्य थिए भनेर मान्न सकिन्छ।
 
अन्तमा ओली र बच्चनको कुनै कोणबाट पनि तुलना हुन् सक्दैन। तर बेइमानी, आफूलाई सहयोग र सद्भाव राख्ने मान्छेलाई आफ्नो स्वार्थसिद्ध हुन्छ भने धोका दिन बाँकी नराख्ने चरित्र समान छ। यति हुँदाहुँदै पनि साधारण व्यक्तिको दृष्टिमा यिनीहरु भलाद्मी र असल मान्छे भएको छबि छ, त्यो भने आश्चर्यजनक छ।

प्रकाशित मिति: : 2020-10-05 09:27:00

प्रतिकृया दिनुहोस्