अग्रता जाेगाउन नसक्दा टर्कीसँग बराबरीमा राेकियाे जर्मनी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जर्मनीलाई टर्कीले बराबरीमा रोकेको छ। 

घरेलु मैदानमा भएको खेलमा जर्मनी टर्कीसँग ३–३ को बराबरीमा रोकिएको हो।

पहिलो हाफमा १–० को अग्रता लिएर पनि जर्मनीले त्यसलाई जोगाउन सकेन।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हाभर्ट्जको सहयोगमा जुलियन ड्रेक्सलरले गोल गरी जर्मनीलाई अग्रता दिलाएका थिए। 

तर, ४९औँ मिनेटमा ओजान तुफानले टर्कीका लागि बराबरी गोल गरे।

खेलको ५८औँ मिनेटमा काई हाभर्ट्जले दिएको पासमा फ्लोरियन नोयहाउसले जर्मनीका लागि गोल गरे। 

६७औँ मिनेटमा टर्कीका लागि इफेचान कारचाले गोल गरे। 

८१औँ मिनेटमा गियान लुका वाल्डस्मिटले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए।

 तर, इन्जुरी समयमा जर्मनीका खेलाडी सम्हालिन नसक्दा ९४औँ मिनेटमा केनान कारामनले गोल गर्दै टर्कीलाई हारबाट जोगाए।

प्रकाशित मिति: : 2020-10-08 06:39:25

प्रतिकृया दिनुहोस्