दसैंमा प्रहरीका ‘कुकुर’ र ‘ड्रोन’ ले सुरक्षा निगरानी गर्ने

नेपाल प्रहरीले दसैं, तिहार र छठलगायतका पर्वमा कुकुर र ड्रोनबाट ‘सुरक्षा निगरानी’ गर्ने भएको छ। कोरोना भाइरसको कहरसँगै दसैंमा अपराधिक क्रियाकलाप बढ्नसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कुकुर र ड्रोनको प्रयोग गर्ने भएको हो।

नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी कुवेर कडायतले दसैंमा सर्वसाधारणको चहलपहल बढी हुने, चोरी तथा अपराधका घटनाहरू बढ्नसक्ने भन्दै प्रहरीले कडा सुरक्षा रणनीति तयार गरेको बताए। 

‘प्रहरीले सर्वसाधारण र सरोकारवाला निकायले सुरक्षा मापदण्ड पालना गरे नगरेको हेर्न र सीमा क्षेत्रमा थप कडाई गर्न कुकुर र ड्रोनको प्रयोग गर्ने छ’, उनले भने, ‘भाइरसको महामारी फैलिन नदिन र अपराधिक घटना न्यूनिकरणका लागि यो आवश्यक छ।’

उनले काठमाडौैंमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यसको रोकथाम, नियन्त्रणका लागि प्रहरी सक्रिय भएको बताए।

प्रहरीले हरेक वर्ष दसैंका लागि विषेश सुरक्षा व्यवस्था रणनीति अपनाउने गरेको भएपनि यो वर्ष भने अन्य वर्षको भन्दा फरक छ।

‘कुकुर तथा ड्रोनले विषेश गरी उपत्यका प्रवेश तथा बाहिरिने नाकामा निगरानी गर्छ’, एसएसपी कडायत भन्छन्, ‘प्रहरीले अन्य सुरक्षा रणनीतिका बारेमा छलफल गर्दैछ।’

प्रहरीले दसैं तथा तिहारमा सुरक्षा व्यवस्थालाई चुस्त र मजबुत बनाउन ठाउँठाउँमा चेक प्वाइन्ट बढाउने तयारी पनि गरिरहेको छ। 
गण, गुल्म तथा तालिम केन्द्रमा भएका जनशक्तिलाई फिल्डमा खटाउने तयारी प्रहरीले गरिरहेको छ। 

काठमाडौं उपत्यकामा मात्रै नभई शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी प्रमुखसँग समन्वय र छलफल भइरहेको कडायतले बताए।

प्रकाशित मिति: : 2020-10-08 10:27:08

प्रतिकृया दिनुहोस्