मेडिकल शिक्षा सुधारका माग राख्दै २६ दिनयता अनसनरत डा गोविन्द केसीलाई श्वासप्रश्वासमा थप समस्या देखिएको छ। डा केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेको त्रिवि शिक्षण अस्पतालको टोलीले डा केसीको स्वासप्रश्वासमा थप कठिनाइ भएको जानकारी दिएका हुन्।
उनको शरिरमा अक्सिजनको मात्रा अझै घटेको छ। मेडिकल टिमले जाँच गर्दा न्युमोनिया हुन सक्ने लक्षण देखिएको अस्पतालले जानकारी दिएको छ।
उनको स्वास्थ्यबारे थप परीक्षण भइरहेको डा केसीकी सहयोगी डा तोषिमा कार्कीले जानकारी दिएकी छन्। डा केसीको छातीको सिटी स्क्यान गर्नुपर्ने आवश्यक भएको डा मेडिकल टिमका ईन्चार्ज डा सुवास आचार्यले बताएका छन्।
डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सरकारले अनसनको २५औं दिनमा वार्ता सुरु गरेको थियो। बिहीबार करिब १० घण्टा भएको वार्तामा सहमतिको पहिलो मस्यौदा तयार भएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै सकिएको थियो।