काठमाडाैं। युइएफए नेसन्स लिगमा जर्मनीले पहिलो जित दर्ता गरेको छ।
शनिबार राति भएकाे तेस्रो चरणको खेलमा युक्रेनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै जर्मनीले पहिलो जित निकालेको हो।
जर्मनीले स्पेन र स्वीट्जरल्यान्डसँग समान १–१ गोलको बराबरी खेलेका थिए।
जर्मनीको जितमा म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल गर्दा युक्रेनका रुस्लान मालिनोभ्स्कीले गोल गरेपनि हार टार्न सकेन।
एनएसके किभमा शनिबार राति भएको खेलमा पाुहना टोली जर्मनीले खेलको २०औं मिनेटमा डिफेन्डर म्याथिएस जिन्टरको गोलबाट खेलमा अग्रता लिएको थियो।
पहिलो हाफमा युक्रेनले कुनै पनि समय जर्मनीको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन। दोस्रो हाफको शुरुमै जर्मनीले अग्रता दोब्बर पार्यो।
४९औं मिनेटमा लियोन गोरेट्जकाले गोलरक्षक बुस्चनको गल्तीमा गोल गर्न सफल भएका थिए। लुकास क्लोसटमानको क्रसलाई गोलरक्षक बुस्चनले सहजै नियन्त्रणमा लिएर पनि फुस्काएपछि गोरेट्जकाले गोल गर्न सफल भएका थिए।
६०औं मिनेटमा युक्रेनका रस्लान मालिनोभ्स्कीको प्रयासले कप्तान तथा गोलरक्षक म्यानुयल नोयरलाई दवाव सिर्जना भएन। ७६औं मिनेटमा युक्रेनले पेनाल्टीमार्फत गोल गर्दै गोलअन्तर २–१ मा झार्यो।
निकलस सुलले पेनाल्टी बक्समा रोमन यारेमचुकलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रुस्लान मालिनोभ्स्कीले गोल गरे। नोयरले सही दिशा दिएपनि बचाउन सकेन।
जितसँगै लिग ‘ए’ को ४ मा रहेको अपराजित जर्मनीले युक्रेनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ। जर्मनीको ३ खेलबाट ५ अंक पुगेको छ। समान खेलबाटै युक्रेनको ३ अंक छ। शीर्षस्थानमा रहेको स्पेनको ७ तथा स्वीट्जरल्यान्डको १ अंक छ।