फ्रान्स र पोर्चुगल जित बिहीन, रोनाल्डो र एमबाप्पेको जादू चलेन

विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा युरोपियन च्याम्पियन पोर्चुगलसँग बराबरी खेलेकाे छ। 

घरेलु मैदानमा भएको खेलमा फ्रान्स र पोर्चुगलका केलियन एमबाप्पे र क्रिष्टियानो रोनाल्डो आइतबार राति भएको खेलमा गोल गर्न असफल भए। 

नेसन्स लिगको सबैभन्दा ठुलो खेलले सन् २०१६ को युरो फाइनलको झल्को लिएको थियो । फ्रान्सेली मैदानमा पोर्चुगलले अप्रत्यासीत रुपमा फाइनल उपाधि जितेको थियो ।

त्यसपछि फ्रान्सले सन् २०१८ को विश्वकप र पोर्चुगलले सन् २०१९ को नेसन्स लिगको उपाधि जितेको थियो ।

यसपटक समूह ए थ्री मा रहेका यी दुई टिमको खेलमा गोल गर्ने प्रयास दुवै तर्फबाट भएको थियो। तर सफल कोही पनि हुन सकेनन्। 

३५ वर्षे रोनाल्डोले राष्ट्रिय टिमबाट गरेको गोलको खातामा १०१ गोलमा अर्को गोल जोड्न सकेनन्।

२१ वर्षका एमबाप्पेले पनि गोल गर्ने राम्रा मौका बनाए तर गोल गर्न भने सकेनन्। यस्तै राष्ट्रिय टिमबाट ४२ गोल गरेका ओलिभर जिरउडले पनि गोल गर्न सकेनन्।

बराबरीपछि तीन खेलबाट ७ अंकसहित पोर्चुगल शीर्ष स्थानमा तथा ७ अंक नै भएको फ्रान्स दोस्रो स्थानमा छन्।

प्रकाशित मिति: : 2020-10-12 06:46:00

प्रतिकृया दिनुहोस्