बूढीगण्डकी कमिसन प्रकरण: ओली, देउवा र प्रचण्डमाथि छानविन गर्न विवेकशीलकाे आग्रह

विवेकशील नेपाली दलले बूढीगण्डकी जलविद्युत् परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविन गर्न माग गरेको छ।

पूर्वप्रधानमन्त्री तथा नेता डा बाबुराम भट्टराईले केही दिनअघि गोरखामा भएको एक कार्यक्रममा ‘बूढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको र परियोजना अलपत्र पारेको’ आरोप लगाएका थिए।

विवेकशील दलले सोमबार विज्ञप्तिमार्फत डा भट्टराईले गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरेको छ। 

‘यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये दुई जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्नेतर्फ पनि अदुअआको ध्यान जानु जरुरी छ। आफूसँग त्यसको प्रमाणसमेत रहेको बताउनुभएका पूर्वप्रधानमन्त्री भट्टराईलाई ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न विवेकशील अनुरोध गर्दछ,’ पार्टीले भनेको छ। 

पार्टीले यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषयसमेत भएकाले अदुअआले उच्च प्राथमिकतामा राखेर छानविन अघि बढाउनुपर्ने समेत बताएको छ।

यस्तै अदुअआमा रिक्त प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्ने विषयमा हरेक नेपालीले गम्भीरतापूर्वक हेर्नुपर्ने समेत पार्टीले बताएको छ।

‘अदुअआमा रिक्त प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्ने विषयमा संवैधानिक परिषद्को अध्यक्ष र सदस्यको रूपमा क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलको नेता शेरबहादुर देउवाले आफ्नाविरुद्धको छानबिन गर्नका लागि कस्ता पात्रहरू कुन प्रक्रियाबाट छनाेट गर्ने हुन्?  हरेक नेपालीले गम्भीरतापूर्वक हेर्नुपर्ने छ,’ पार्टीले भनेको छ। 

प्रकाशित मिति: : 2020-10-12 14:33:00

प्रतिकृया दिनुहोस्