‘अक्सन थियोरी’ सुधारक दुई अमेरिकी अर्थशास्त्रीलाई नोबेल पुरस्कार

बिएल संवाददाता

न्यूयाेर्क

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री पउल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ। 

‘अक्सन थियोरी’मा गरेको योगदान स्वरुप उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएकाे हाे।

नोबेल पुरस्कार समितिले सोमबार लिलामीमा सुधार र अक्शनको नयाँ तरिका अविष्कार गरेको भन्दै यो पुरस्कार दिन लागेकाे जनाएकाे छ।

पउल आर मिलग्रोम र रोबर्ट बी विल्सन दुवै जना अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन्। उनीहरुले अक्सनको नयाँ ढाँचा पनि पत्ता लगाएका छन्।

उनीहरुले अक्शनको प्रक्रियाले कसरी काम गर्छ भनेर अध्ययन गरेका थिए।

उनीहरुले यस्ता वस्तु र सेवाको लागि नयाँ अक्शन प्रक्रिया तयार गरे, जसलाई पारम्परिक तरिकाबाट बेच्न मुश्किल छ। यी दुईको खोजले विश्वभरका बिक्रेता, खरिदकर्ता र करदाताहरुलाई सहज भएको छ। 

लिलामी प्रक्रियामा बढी मोल तिर्न इच्छुकलाई सामान बिक्री गरिन्छ भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन्।

उद्योगी  अल्फ्रेड नोबेलको नाममा सन् १९६९ देखि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइँदै आएको छ। गत वर्ष अविजित बेनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्तरुपमा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो।

यो वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमलाई प्रदान गर्ने निर्णय भएको छ।

यससँगै यस वर्षको सबै विधाका लागि नोबेल पुरस्कार घोषणा भएको छ।

प्रकाशित मिति: : 2020-10-12 19:14:00

प्रतिकृया दिनुहोस्