नेपालीनागरिकता लिएर सुन तस्करी गर्ने भारतीय नागरिक सोनीविरूद्ध मुद्दा, अढाइ अर्बको बिगो

राजश्व अनुसन्धान विभागले सुन तस्करीको आरोपमा भारतीय नागरिक सुनिल सोनीविरूद्ध मुद्दा दायर गरेको छ। 

सोनीलाई राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको टोलीले बुटबल उपमहानगरपालिका ११ बाट ७५ लाख रुपैयाँ नगदसहित असार ३० गते पक्राउ गरेको थियो। 

उनलाई दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रुपैयाँ बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। 

सोनी रुपन्देही सिद्धार्थनगर १२ स्थित सोनी ज्वेलर्सका प्रोप्राइटर तथा सोनी गोल्ड एन्ड सिल्भर प्रालिका सञ्चालक हुन्। 

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार नेपाली नागरिकतासमेत लिएर उनी सुनिल सुनारको नाममा गतिविधि गर्दै आएका थिए।

मुद्दामा सिद्धार्थनगर ६ का अमित परियारलाई पनि प्रतिवादी बनाइएको  मैनालीले जनाए। परियारले सोनीलाई सहयोग गर्दै आएका थिए। 

उनीमाथि अनुसन्धान गर्दा सुन चाँदीको अवैध आयात/निर्यात तथा बिक्री कारोबार गर्ने गरेको खुलेको छ। उनले बैंक तथा भन्सार बिन्दुबाहेक अन्य बाटोबाट सुन चाँदी चोरी पैठारी गरी अवैध रुपमा बिक्री गर्ने, सोबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरूलाई भुक्तानी लिने र दिने गरेको पत्ता लागेको विभागले जनाएको छ। 

भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख ३८ हजार ८७० र आयकरतर्फ १६ करोड ४१ लाख ७७ हजार ७३ रुपैयाँ छली गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएकाे छ। 

प्रकाशित मिति: : 2020-10-12 19:43:00

प्रतिकृया दिनुहोस्