सरकार र व्यवसायीबिच तत्काल जारको पानीको मूल्य नबढाउने सहमति

सरकार र व्यवसायीबिच तत्काल जारको पानीको मूल्य नबढाउने सहमति भएको छ ।

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ ।

छलफलमा बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति गरिएको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको छ ।

यसअघि नेपाल बोटल वाटर उद्योग सङ्घले असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउने निर्णय गरेको थियो ।

विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य रु ५० र एक लिटर पानी भएको बोतलको मूल्य रु १६ कायम गरेको थियो । 

नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको मूल्य रु ५० मा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार रु २५ देखि ५० मा बिक्री गर्ने गरिएको थियो ।


 

प्रकाशित मिति: : 2020-10-13 13:05:00

प्रतिकृया दिनुहोस्