भारतीय सेनाध्यक्षको भ्रमणले सुध्रिएला नेपाल–भारत सम्बन्ध!

भारतीय सेनाध्यक्ष एमएम नरवाणे
भारतीय सेनाध्यक्ष एमएम नरवाणे

नेपालविरूद्ध आपत्तिजनक बयान दिएर आलोचित भएका भारतीय सेनाध्यक्ष एमएम नरवाणेको आसन्न नेपाल भ्रमणलाई लिएर भारतमा पनि चर्चा सुरु भएको छ। नरवाणे आउँदो महिना नेपालीहरूको महान चाड दशैं र तिहारको बीचमा काठमाडौं जाँदैछन्। 

नेपाल आर्मीले पनि बुधबार यसको पुष्टी गरिसकेको छ। तर, उनी कुन दिन काठमाडौं उत्रिँदैछन्, यसलाई भने गोप्य राखिएको छ। नेपाल सरकारले ३ जनवरीमा नै उनलाई नेपाल आउने निम्तो दिएको थियो तर कोरोनाका कारण सम्भव भएको थिएन। 

नेपाल आर्मीका प्रवक्ता ब्रिगेडियर सन्तोष पौडेलले बुधबार भनेका थिए, ‘उहाँको आउने मिति तय गर्ने अभियानमा छौं।’ 

नरवाणे सन् १९५० देखि नेपाल–भारतको अटुट सम्बन्धको रूपमा रहेको भारतीय सेनाध्यक्षलाई नेपाल आर्मीको पनि मानार्थ जर्नेलको पद दिने परम्पराको निरन्तरताका लागि नेपाल जान लागेका हुन्। ७० वर्ष पुरानो यो परम्पराअनुसार नेपालका आमी प्रमुखलाई पनि भारतमा मानार्थ जर्नेल पद दिने चलन छ। 

तर, नरवाणेको नियुक्तिसँगै नेपाल–भारत सम्बन्धमा तिक्तता आएको थियो। गत मेमा रक्षा मन्त्री राजनाथ सिंहले नेपालको भू–भाग हुँदै लिपुलेक जानेबाटोको डिजिटल उद्घाटन गरेपछि नेपाल सरकारले यसको विरोध गरेको थियो। 

यसै बेला नरवाणेले आपत्तिजनक टिप्पणी गरेका थिए। उनले चीनको नाम नलिएपनि अरूले उकासेर नेपालले सीमा विवाद उचालेको आरोप लगाएका थिए। नरवाणेको टिप्पणीलाई नेपालका तत्कालिन रक्षा मन्त्री इश्वर पोखरेलले अपमानजनक बताएका थिए। उनले भनेका थिए, ‘भारतले नेपालको इतिहास, सामाजिक विशेषता र स्वतन्त्रताको बेवास्था गरेको छ।’

तर, रोचक कुरा नरवाणेको भारत भ्रमणको आधिकारीक जानकारी नेपाली सेनाले सार्वजनिक गरेकै दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दै इश्वर पोखरेललाई रक्षा मन्त्रालयको पदबाट हटाएका छन्। यद्यपि उनलाई मन्त्री परिषद् हेर्ने गरि उप–प्रधानमन्त्रीको पदमा यथावत राखिएको छ। 

तर, यसलाई भारतले कुटनीतिक जितको रूपमा लिएको छ। र, नरवाणेको भ्रमणले नेपाल–भारतबीच बिग्रिएको सम्बन्ध पुनः ट्रयाकमा फर्किने आशा गरेको छ। 

२ नोभेम्बर २०१९ मा भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेदेखि नेपाल–भारतबीचको सम्बन्ध राम्रो छैन। नेपालले बारम्बार भारतसँग आफ्नो असहमति दर्ता गराएपनि उसले वास्ता नगरेपछि नेपालले यी तीनवटै क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेर १८ मेमा संसदद्धारा सर्वसहमतले पास गराएको थियो। यसपछि दुबै देशबीच कुटनीतिक वार्ता हुन सकिरहेको थिएन। तर, गत अगस्टमा नेपालका प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भारतको ७४ औं स्वतन्त्रता दिवसमा फोन गरेर बधाई दिएका थिए। 
ओलीको त्यो टेलिफोनले दुई देशबीच बिग्रिदै गएको सम्बन्धमा ‘आइसब्रेक’ भएको धेरैको बुझाई छ। टेलिफोनमा दुई समकक्षीबीच आपसी सहयोगको विषयमा कुराकानी पनि भएको थियो। लगत्तै १७ अगस्टमा काठमाडौंमा दुबै देशका पदाधिकारीबीच उच्च स्तरीय बैठक पनि सम्भव भयो। यसमा नेपालका विदेश सचिव शंकर दास बैरागी र भारतीय अधिकारीको एउटा टिमबीच कुराकानी भएको थियो। 

प्रकाशित मिति: : 2020-10-16 12:00:00

प्रतिकृया दिनुहोस्