आज अमेरिकामा 'राष्ट्रपति बहस': आम्नेसाम्ने हुदैछन् तेस्रो र अन्तिमपटक बाइडन र ट्रम्प

आज अमेरिकाको क्यालेण्डरमा अक्टोबर २२, २०२० हो। आसन्न नोभेम्बर ३ को राष्ट्रपति चुनावका लागि घम्साघम्सी गरिरहेको अमेरिकाका लागि आजको दिन विशेष र चीर प्रतिक्षित छ। यसकारणले कि आज पूर्वीय समयअनुसार साँंझ ९ बजे यसपालिको राष्ट्रपति निर्वाचनका दुई प्रतिस्पर्धी हात्तीवाला डोनल्ड ट्रम्प र गधावाला जो वाइडेन आम्नेसाम्ने हुँदैछन्।

अमेरिकी राष्ट्रपति चुनावको एक सुन्दर पक्ष हो, प्रेसिडेन्सियल डिबेट जहाँ दुई प्रतिस्पर्धीहरू समसामयिक मुद्दा, नीति र कार्यक्रमका बारेमा वहस गर्छन्। अनि, तर्क, तथ्य र प्रस्तुतिका आधारमा अमेरिकी जनताको मन जित्न् प्रयास गर्छन्। यसको लामो र प्रभावकारी इतिहास छ। 

यसपटकको लागि आज तेस्रो तथा अन्तिम श्रृंखला आयोजना हुदैछ। ९० मिनेट लामो यो वहस टेनेसी राज्यको नासिभिलमा आयोजना हुदैछ। कोरोना कहरका कारण सिमीत दर्शकबीच आयोजना हुने यो वहस अमेरिकी मूलधारका सबै सञ्चारमाध्यमले प्रसार गर्छन्। 

यसपटकको वहसको पहिलो श्रृङ्खला ओहायोको क्लिभल्याण्डमा आयोजना भएको थियो भने फ्लोरिडाको मियामीमा तय भएको दोस्रो श्रृङ्खला कोभिड १९ पोजिटिव देखिएका ट्रम्पले भर्चुअल डिबेट अस्वीकार गर्दा अन्तिम समयमा आएर रद्द भएको थियो। पहिलो बहसमा हात्तिवाला ट्रम्पको आक्रमक रबैयाका कारण अहिलेसम्म आयोजना भएका बहसमा सबैभन्दा खराब रेटिङ भएको थियो। यसपटक त्यसलाई सुधार्न पहिलो दुई मिनेट प्रतिवाद गर्न नपाइने गरी माइक म्युट सिस्टम राखिएको छ।

यसपटकको अमेरिकी राष्ट्रपति चुनाव अरू बेलाको जस्तो शालिन, भद्र रप्रजातान्त्रिक अभ्यासको एक कडी जस्तो छैन। ट्म्पलाई जसरी पनि जित्नैपर्नेछ भने बाइडनलाई जसरी पनि ट्रम्पलाई हराउनैपर्ने छ।  अमेरिकी दुई ध्रुववीचको प्रतिष्ठाको लडाइ बनाइएको यो चुनाव कम चुनाव र बढी युद्ध जस्तो छ। 

अमेरिकी चुनावको तराजुको पल्ला यतिबेला गधावाला बाइडनको पक्षमा ढल्केको देखिएको छ। तर, कुनै पनि बेला जे गरेर भए पनि चुनावी हावा आफ्नो पक्षमा पार्न सक्ने ट्रम्पको खुबीका कारण अझै पनि आम अमेरिकी मतदाता जे पनि हुन सक्छ भन्ने संशयकै अवस्थामा छन्। डेमोक्रेट्सहरू चुनावी पल्ला आफ्नो पक्षमा भारी भए पनि अझै पनि जितका लागि सुनिश्चित हुन सकेका छैनन्। उता, रिपब्लिकनहरू ट्रम्पलाई भगवानले नै राष्ट्रपति हुनका लागि जन्माएको बताउँदै अझै पनि जीतको आशा गरिरहेकै छन्। फरक यति हो, डेमोक्रेट्सहरू जीतका लागि ढुक्क हुन सकेका छैनन् भने रिपब्लिकनहरू हारका लागि तयार भैसकेका छैनन् । अर्को भाषामा भन्दा डेमोक्रेट्सहरूमा सुनिश्चितता छैन, रिपब्लिकनहरूमा आशा मरिसकेको छैन। 

यही धरमरको स्थितिमा प्रेसिडेन्सियल डिबेटको तेस्रो तथा अन्तिम श्रृंखला आयोजना हुँदैछ। आजको श्रृंखलामा कस्ले राम्रो प्रस्तुति दिए अन्तिम समयमा  बचेखुचेका तटस्थ मतदाताको मन पगालेर आफ्नो जीतमा मोहर लगाउने हुन् ? यही प्रश्नको उत्तर पाइन्छ कि भनेर आम अमेरिकी मतदाता उत्सुकताका साथ यो बहसको प्रतीक्षा गरिरहेका छन्। 

आजको वहसका विषयहरू तय भैसकेका छन्। यद्यपि, ट्रम्प हन्टर वाइडनसँग जोडेर बाइडनलाई व्यक्तिगत रूपमा आक्रमण गर्न चाहिरहेका छन् भने बाइडन कोभिड १९ लगायतका आन्तरिक मुद्दामा ट्रम्पलाई घेर्न चाहिरहेका छन्। ट्रम्प बाइडनलाई कम्युनिष्ट, सोसलिष्ट भन्दै उनलाई चीन पक्षधर देखाउँदै त्यही कार्डमा खेल्न खोज्नेछन् भने बाइडनले चीनमा ट्रम्पको बैङक खाता देखिएको प्रसंग उठाएर त्यसको प्रतिवाद गर्नेछन्। 

 वहसको केन्द्रमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन लागेकी रूढीवादी न्यायाधीश एमी पनि हुनेछिन् र योसँगै जोडिएर हेल्थ केयर, गर्भपतन, बन्दुक अधिकारलगायतका मुद्दा पनि आउन सक्छन्। ब्लाक लाइभ्स म्याटर, श्वेतअतिवाद, ट्रम्प क्यारेक्टरलगायतका मुद्दा त स्थायी मुद्दाजस्तै हुन् अमेरिकामा।

यी विषयमा दुई प्रतिस्पर्धीका विचार लगभग सार्वजनिक भैसकेका छन्। तर, आजको प्रश्न भनेको उनीहरू कसरी प्रस्तुत हुने हुन् भन्ने नै हो। सम्भवत: ट्रम्प पहिलो वहसमा जस्तो आक्रमक हुने छैनन्। उनको त्यो आक्रमकपन धेरैलाई मन नपरेको शायद उनले पनि बुझेको हुनुपर्छ। तर, ट्रम्प घटनाबाट पाठ सिक्ने स्वभावका मान्छे हैनन्। र, अहिले उनमा जनमतको अंकगणित र सम्भावित हारको चित्र देखेर एन्जाइटी बढिरहेको छ। त्यसैले उनी पहिलेको भन्दा बढी आक्रमक पनि हुन सक्छन्। 

बाइडेन स्वभावत: कम आक्रमक स्वभावका छन्। उनी शालिन र सभ्य रूपमा नै प्रस्तुत हुन्छन्। कतिपय उनका शुभचिन्तकहरू उनको यही शालिनतालाई ट्रम्पले कमजोरी ठानिरहेको बताउँदै केही बढी आक्रमक हुनुपर्ने पनि ठान्छन्। तर, बाइडन जनमतमा अघि देखिएकाले थप आक्रमक भएर विवादमा पर्नेभन्दा शालिनताका साथ प्रस्तुत भएर अहिलेको अवस्थालाई नै यथावत रूपमा राख्न सके चुनाव जित्नसक्ने ठान्छन्। 

हेरौ, आजको वहस । अहिले नै यस वहसका बारेमा धेरै कुरा अनुमान लगाउन गाह्रो छ । कारण अरू केही हैन, यसका एक प्रस्तोता ट्रम्पको मुड कस्तो हुन्छ, त्यसैले यो बहसको भविष्य निर्धारण गर्छ। 

प्रकाशित मिति: : 2020-10-22 22:26:00

प्रतिकृया दिनुहोस्