अमेरिकामा मतदान ९ दिन बाँकि : ट्रम्पद्वारा मियामीमा 'अर्ली भोटिङ', कारण के?

अमेरिकाको यस वर्षको चुनावी तिथि अर्थात् नोभेम्बर ३ आउन अब ९ दिनमात्र बाँकि छ। यस बीचमा अर्ली भोटिङ र हुलाकबाट मतपत्र पठाएर पाँच करोडभन्दा बढी अमेरिकी मतदाताले मतदान गरिसकेका छन्। कोरोना कहरका कारण नोभेम्बर ३ मा भींड गरेर मतदान गर्न निरूत्साहित गरिएकोले पनि यसपटक बम्पर मतदान भैरहेको छ। यसका अतिरिक्त यसपटकको अमेरिकी चुनाव राष्ट्रपति ट्रम्पलाई जित्नैपर्ने र अरूलाई उनलाई हराउनैपर्ने गरेर प्रतिष्ठायुद्ध बनाइएकाले भारी मात्रामा मतदान भैरहेको हो। 

यसपटकको अमेरिकी चुनावलाई राष्ट्रपतीय वहसले केही फरक पार्ला कि भन्ने अपेक्षा धेरैको थियो। सन् २०१६ को चुनावको अन्तिम ११ दिनमा चुनावको पल्ला आफ्नो पक्षमा पार्न सफल अनिश्चयका महान खेलाडी ट्रम्पको जीवन-मरणको उम्मेद्वारी भएकाले उनीबाट त्यस्तो केही अपेक्षा गरिएको हो। तर, यसपटक उनले त्यस्तो केही जादू गर्न सकेनन्।

यसबीचमा बरू उल्टै ट्रम्पले बसाइ सरेको नयाँ गृहराज्य फ्लोरिडाको पाम बिच काउन्टी पुगेर अर्ली भोट गरेका छन्। यो ट्रम्पले जीवनमै पहिलोपटक निर्वाचनस्थलमै गएर गरेको पहिलो मतदान हो। यसअघि उनी मेल भोटिङ गर्दै आएका थिए। न्युयोर्कमा जन्मेर त्यहीको स्थायी बासिन्दा रहेका ट्रम्प पछिल्लोपटक आफ्नो लागि कम्फोर्ट जोन हुने ठानेर फ्लोरिडा सरेका छन्। ह्वाइटहाउसबाट बहिर्गमन भएपछि अनेकौ मुद्दा चलिरहेको न्युयोर्कमा थप संकटमा परिने भयले उनी फ्लोरिडा सरेको अनुमान लगाइएको छ।

जीवनभर मेल भोटिङ गर्दै आएका ट्रम्प पछिल्लो समय त्यसको तीब्र विरोध गर्दै आएका छन्। शायद त्यही मेल भोटिङलाई विवादमा ल्याएर चुनावी परिणामलाई अदालततिर लैजाने केस बनाउनकै लागि उनी मियामी पुगेर अर्ली भोटिङ गरेको हुन सक्छ। प्रथम महिला मेलानियाबिना एक्लै मियामी पुगेर मतदान गरेबाट पनि यसका पछि केही न केही कारण हुनुपर्छ भन्ने धेरैको अनुमान हो। यसै पनि उनी एक सदावहार झगडियाका रूपमा बदनाम छन्।अहिले पनि उनी कतिपय निजी वकील राखेर त कतिपयमा आफ्नो प्रशासनको सरकारी वकिलको सहायताले दर्जनौ मुद्दा लडिरहेका छन्। जटिल प्रकृतिका मुद्दामा उनले अमेरिकी राष्ट्रपति कानूनभन्दा माथि भएको जिकिर पनि गरिरहेका छन्। 

मियामी पुगेर अर्ली भोटिङ गर्नु भनेको उनले एक किसिमले हार स्वीकार्नु गरेको भन्ने पनि छन्। उनलाई २७० को अंकगणितमा पछि  परेको आभास भएको र मेल भोटिङलाई उचालेर मुद्दा बनाउन सकिन्छ भन्ने योजनामै उनी त्यहाँ पुगेको उनीहरूलाई लागेको छ। एकातिर उनले सहजढंगले शान्तिपूर्ण रूपमा सत्ता छोड्ने इन्कार गरिरहेको अवस्था छ भने अर्कोतिर मेल भोटिङलाई मुद्दा बनाएर आफ्नो विपक्षमा आउने सम्भावित परिणामलाई सर्वाेच्च अदालतमा पुर्याएर आफ्नो पक्षमा निर्णय गराउन एमी कोनी ब्यारेटलाई सर्वोच्च अदालतमा भर्ना गरेर आफ्नो पक्षमा ६-३ बनाउन फास्ट ट्रयाकमा लागिपरेका छन्। 

हुन त राष्ट्रपति ट्रम्प र उनको चुनावी क्याम्पेनले पछिल्लो समय प्रतिद्वन्दी बाइडनलाई अनेकौ मुद्दामा घेर्ने प्रयत्न नगरेका हैनन्। तर, कुनै पनि मुद्दाले उनीहरूलाई सत्ताको वैतरणी तार्न सक्ने अवस्थामा पुर्याएन। करोडौ अमेरिकी मतदाताले मतदान गरिसकेको यो अवस्थामा धेरै राजनीतिक पण्डितहरू निर्णायक मत खसिसकेको पनि बताइरहेका छन्। यसबाट उनीहरूको वृतमा एक किसिमको कुण्ठा र हतासा देखिएको छ।

अहिले पनि अमेरिकामा दिनमा हजारभन्दा बढी मानिस कोभिड १९ ले मरिरहेका छन् भने ८० हजारभन्दा बढी संक्रमित भैरहेका छन्। प्रकारान्तरमा अहिले पनि घुमाइफिराइ यही नै चुनावको मियो मुद्दा बनिरहेको छ। र, अमेरिकी रोगी र वृद्ध मतदाता जो निर्णायक छन्, उनीहरू ट्रम्पको नीतिबाट आफ्नो भविष्य सुनिश्चित देखिरहेका छैनन्। उनीहरू ट्रम्पले जित्नेबितिकै ओवामाकेयर ध्वस्त हुने र त्यसपछि उपचार नपाएर मरिने भयमा छन्। 

अमेरिकामा यसपटकको चुनाव आउन हैन, सकिन ९ दिन बाँकि हुँदा पनि अझै कस्ले चुनाव जित्ने हो? सुनिश्चित भने भैसकेको छैन। अहिले पनि सबै पोलमा २७० को जादुमय आँकडाभन्दा धेरैमाथि पुगेका छन् डेमोक्रेटिक उम्मेद्वार जो बाइडन। त्यो पनि एक किसिमले हैन, धेरै किसिमले। डेमोक्रेटिक पक्षधर सीएनएनको मात्र हैन, रिपब्लकन पक्षधर फक्सन्युजको सहकार्यमा गरिएको पोेलमा पनि। तर, २०१६ मा पोल मास्टर नराम्ररी चिप्लिएको दुर्घटनाका कारण अझै पनि धेरैमा के हो के हो भन्ने नै परेको छ।रिपब्लिकनको मुखमा त ट्रम्पले नै थेगो नै बनाइदिएका छन् फेक न्युज, उनीहरू त्यही थेगो भट्याइरहेका छन्। तर, उता डेमोक्रेट्स पनि एक किसिमले नर्भस नै छन्, ढुक्क हुन सकिरहेका छैनन्। 

अमेरिकामा मतदान गर्ने अन्तिम दिन नोभेम्बर ३ आइपुग्न नौ दिन बाँकि रहेको बेला ट्रम्पले नया बसाई सरेको मियामी  पुगेर  अर्ली भोटिङ गरेका छन्। जीवनभर मेल भोटिङ गरेका ट्रम्पले किन गरे त पहिलोपटक अर्ली भोटिङ ? अमेरिकाका यस प्रश्नको उत्तर खोजिरहेको छ। 

यसैबीच यस्तो अवस्थामा पनि ट्रम्पले जित्छन् भन्ने पक्षमै जोखाना हेर्ने, भविषयवाणी गर्ने र बाजी राख्ने धेरै भेटिएका छन्। यसको मूलकारण उनी दक्षिणपन्थी उम्मेद्वार हुन्। स्वभावत दक्षिणपन्थीहरू विज्ञानमा भन्दा भाग्यमा विश्वास गर्छन्। उनीहरू सिधै भन्छन् पनि, 'प्रभुकै इच्छामा फेरि पनि ट्रम्प राष्ट्रपति हुनेछन्।'

अमेरिकामा यसपटक ट्रम्प जित्ने आधार के हो भन्दा उनका समर्थक भन्छन्, जे भए पनि गोराहरूले उनलाई नै दिन्छन्। योसँगै उनीहरू ट्रम्पले चुनावीसभामा दावी गर्दै आएका कारण नै गनाउँछन् तर ती कारणहरू ब्याटलगराउण्ड स्टेटको पछिल्लो अंकगणितसँग मेल खाँदैनन्। 

यो पंक्तिकारलाई लाग्छ, यसपटक ट्रम्पलाई अरू कसैले हराउने हैन ट्रम्प आफैंले हराउने हुन्। अहिले उनी २०२० का ट्रम्प हुन्, उनी २०१६ का ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका छन्। यो प्रतिस्पर्धामा उनी हार्दा स्वभावत: बाइडनले जित्ने हुन्। यसो भन्दै गर्दा के पनि सत्य हो भने बाइडन आफैं जित्ने हैनन्, ट्रम्प हार्दा जित्ने मात्र हुन्।

यसो हेर्दा विम्वात्मक लाग्ने खालको यो विश्लेषणका पछाडि अनेकौ तथ्यसम्मत कारण छन् तर ती कारणको ब्याख्या यतिबेला गर्नुको खासै अर्थ छैन। किनकि, यो इब्लग अन्य भाषीले पढ्ने हैनन्, धेरैमा नेपाली भाषीले पढ्ने हुन्। नेपालीभाषी धेरै यो वा त्यो कारणले बाइडन नै जित्ने ठान्छन्। केही सच्चा रिपब्लिकन पनि बाइडन नै जित्ने ठान्छन्। तर, केही ट्रम्पकन  नेपाली छन् जो आफू अमेरिका आइहालियो, अमेरिकी भैहालियो, अब अरू आए भने आफ्नो महत्व घट्छ, आफ्नो भाग खोसेर खान्छन्- उनीहरूलाई आउन रोक्न पनि ट्रम्पले जित्नुपर्छ भनेर लागेका स्याडिस्ट क्यारेक्टर हुन् उनीहरू। त्यस्ताका लागि कुनै तर्क र तथ्य काम लाग्दैन। बरू उल्टै, बाजी राखौ भन्न थाल्छन्। यो पंक्तिकार सट्टेबाज हैन, त्यसैले बाजी राख्ने कुरामा विश्वास गर्दैन। 

परिणामका लागि ९ दिन पर्खौ। थाहा भैहाल्छ, २०१६ का ट्रम्पले २०२०का ट्रम्पलाई हराउने हुन् कि हैनन्। हराए भने बाइडन जित्छन्, हारे भने ट्रम्प जित्छन्। त्यसपछि यो पंक्तिकारका लागि पनि ग्रिनकार्ड नै कायम राख्ने या नागरिकता लिने, निर्णय लिनुपर्ने हुन्छ। ट्रम्पले जित्दा नागरिकता नै लिनु ठीक हुन्छ, अन्यथा कुनै पनि दिन उनले एउटा कार्यकारी आदेश जारी गरेर ग्रीनकार्ड खारेज गरिदिन सक्छन्। ६-३ को बहुमतमा दक्षिणपन्थी हुने सर्वोच्च अदालतले यलियनको पक्षमा निर्णय गर्ला भन्ने त आशै नगरे हुन्छ। 

एउटा कुरा भने लगभग निश्चित छ, २०२० का ट्रम्पले जिते भने २०२५ को जनवरी २० मा उनले ह्वाइट हाउस छोड्दा हामीजस्ता यलियनका लागि अमेरिकामा खासै ठाउँ हुदैन। यो तपाई हामी आएको अमेरिका हैन, पूरापूर ट्रम्पेरिका भैसकेको हुनेछ।

 

प्रकाशित मिति: : 2020-10-25 07:57:00

प्रतिकृया दिनुहोस्