प्रदेशमा ‘भ्रष्टाचार’ : नेकपाको विवादले संसदीय समिति निकम्मा हुँदा सरकारलाई हाइसन्चो

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर
अजय अनुरागी

२नम्बर प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका अधिकांश सांसदले हालै प्रदेश सरकारले व्यापक भ्रष्टाचार गरेको भन्दै आलोचना गरे । जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित बैठकमा सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरू उपस्थित रहेकै बेला सांसदहरूले भ्रष्टाचारबारे कुरा उठाएका हुन् ।

प्रदेश सभाको बैठक सञ्चालन भएको अवस्थामा प्रमुख प्रतिपक्षी नेकपा तथा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले समेत शून्य समय होस् वा विशेष समय वा रोस्ट्रममा नै बोल्ने मौकामा पनि भ्रष्टाचार बढेको भन्दै आलोचना गर्ने गर्छन् । तर त्यसको जवाफ न त सरकारका मन्त्रीले दिने गर्छन्, न त कुनै छानबिन नै हुन्छ । 

प्रदेशसभा संसदीय समितिको सार्वजनिक लेखा समिति सक्रिय नभएका कारण पनि छानबिन हुन नसकेको प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव बताउँछन् । ‘समितिको सभापति नै नेकपाले चुन्न नसकेका कारण पनि प्रदेशमा भ्रष्टाचार बढेको हो,’ यादवले थपे, ‘समितिले सरकारका मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिने, छानबिन गर्ने, आवश्यक कागजात झिकाउने, आवश्यक निर्देशन दिने जस्तो काम गरेको भए सरकारको भ्रष्टाचारको रफ्तार माथि केही हदसम्म भए पनि ब्रेक लगाउन सकिन्थ्यो । प्रदेशमा बढ्दो बेरुजु फर्छ्यौटका लागि पनि दबाब बढ्न सक्थ्यो ।’

तर प्रदेशसभा गठन भएको ३ वर्ष बितिसक्दा पनि विभिन्न संसदीय समितिमध्ये प्रभावशाली मानिने सार्वजनिक लेखा समितिले सभापति चयन गर्न सकेको छैन । प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपाको भागमा परेको समितिको सभापति चयन गर्न नेकपा हालसम्म चुकेको छ ।

प्रकाशित मिति: : 2020-10-28 10:12:00

प्रतिकृया दिनुहोस्