हिमालपारिको गाउँ

गोरखापत्र

काठमाडौँ
तस्बिर : गोरखापत्र

राजन रावत
हिमालपारिको गाउँ भनेर चिनिएको र चारैतिर हिमालले घेरिएको सानो हिमाली उपत्यका हो– लिमी । यहाँ पुग्न सहज भने छैन । लिमी प्रवेशका लागि दुइटा नाका छन् । पश्चिमतर्फ नाम्खा गाउँपालिकाको वडा नम्बर ५ स्थित चार हजार छ सय मिटर अग्लो नारा लेक हुँदै हिल्साबाट र अर्को पूर्वतर्फको पाँच हजार मिटर अग्लो न्यालु लेकबाट । यी दुवै लेकबाट लिमी जान तयारी राम्रै गर्नुपर्छ । हिल्सादेखि सिमकोटसम्म र हेक्पा खोला हुँदै लेकढिँगाबाट लिमी लाप्चासम्मको अधिकांश भागमा सडक बनिसकेका कारण जताबाट गए पनि गाडीमा यात्रा गर्न सकिन्छ । कच्ची सडक भएका कारण यात्रा भने महँगो पर्छ । बाटोमा अनेकन प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न भने राम्रै पाइन्छ ।
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लिमीको तीनगाउँ जाङ, हाल्जी र तील समुद्री सतहदेखि झन्डै तीन हजार पाँच सयदेखि चार हजार मिटरको उचाइमा पर्छ । यी गाउँ जिल्लाको सदरमुकाम सिमकोटदेखि झन्डै सत्तरी किलोमिटर टाढा उत्तरपश्चिम दिशामा पर्छ । उपत्यका वरिपरि हिमालले घेरिएको हुनाले जिल्लाका अन्य गाउँबस्तीबाट भौगोलिक रूपमा लिमी अलग वा विमुख छ । हाल लिमीका तीन गाउँमा बासोबास गर्ने घरधुरी सङ्ख्या १८० र जनसङ्ख्या एक हजार १७७ जना छन् । यहाँको शैक्षिक स्थिति हेर्दा विद्यालय शिक्षा पढेका भन्दा परम्परागत बौद्ध गुम्बा शिक्षा हासिल गरेकाको सङ्ख्या धेरै छ । गुम्बा शिक्षा (भोटलामा भाषा) पनि प्राप्त गरेको सङ्ख्यालाई साक्षर मान्दा करिब ८५ प्रतिशत जनसङ्ख्या साक्षर छन् । झन्डै चार दशकअघि स्थापना भएको प्राथमिक तहको सरकारी वा सामुदायिक विद्यालयबाट विद्यालय तह पार गर्ने व्यक्ति मुस्किलले एक÷दुई जना मात्रै भेटिन्छन् । तीन गाउँमा तीनवटा सामुदायिक विद्यालय भए पनि हाल तील गाउँको विद्यालय बन्द छ । विद्यार्थी नभएपछि यहाँको विद्यालय बन्द भएको हो । हल्जी गाउँको सुनखानी र जाङ गाउँको भृकुटी प्रावि भने सञ्चालित छन् । एउटा अनौठो पक्ष के छ भने लिमीका ती दुवै विद्यालयमा कोरोना कहर हँुदा पनि पठनपाठन भने जारी छ ।

प्रकाशित मिति: : 2020-10-31 09:04:00

प्रतिकृया दिनुहोस्