कपिलवस्तुमा युरिया मल अभाव

सांकेतिक तस्बिर

मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन्। गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन्। 

धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन्। राजपुरका किसान धुव्र यादवले मल नपाएर गंहँु छर्न ढिलाइ भएको बताए। उनले भने, 'धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि मालको अभाव भएको छ।' 

त्यस्तै शिजराज नगरपालिका खरेन्द्रपुरका तुल्सीराम यादवले मल नपाएर गहुँ छर्न नपाएको बताए। सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानको भनाइ छ। कृषि कार्यालय तौलिहवाका वासुदेव पौडेलले जिल्लामा डिएपी र युरिया मलको अभाव रहेको स्वीकार गर्दै साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताए। कोरोना महामारीका कारण मल आउन ढिलाइ भएको उनको भनाइ छ। 

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र कृषि मन्त्रालयबाट खरिद भई आएमा वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए। रासस 

प्रकाशित मिति: : 2020-10-31 17:40:00

प्रतिकृया दिनुहोस्