रित्तिए ग्रामीण बस्ती : खण्डहर बन्दै गाउँका घर, थोरै पैसा जोडेपछि शहर झरिहाल्ने रहर !

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर

प्रकाश आचार्य

डेढ दशक अगाडिदेखि चलेको तीव्र बसाइँसराइको शृंखलाले पहाडी जिल्लाका ग्रामिण बस्तीहरू रित्तिन (मानवविहीन हुन) थालेका छन् ।

मध्यपहाडी जिल्लाबाट सुविधा र रोजीरोटीको खोजीमा तराई र शहरी क्षेत्रमा बसाइँसराइ चुलिँदा गाउँघर खाली हुँदै गएका हुन् ।

स्थानीय तहको पुनरसंरचना भएर गाउँ–गाउँमा पुगेका सिंहदरबारले पहाडी जिल्लामा यातायात, स्वास्थ्य, सञ्चार, शिक्षा र विद्युत् लगायतका पूर्वाधार तयार गरी विकासले फड्को मार्दै गए पनि बसाइँसराइ भने झनै बढ्दै गएको छ । 

राज्यको पुनःसंरचनाले बसाइँसराइलाई रोक्नुको सट्टा बढेको छ । जिल्लाका प्रत्येक वडामा पुगेका मोटरबाटो बसाइँसराइका लागि सामान ओसार्नका लागि बनाइएको जस्तो देखिएको छ । गाउँमा अहिले वृद्धवृद्धा मात्र छन् । गाउँघर अहिले युवाविहीन छ ।

बाग्लुङको साबिक पैञ्यू थन्थाप, राङखानी, दमेक, विनमारे, गाविस (हाल जैमिनी नगरपालिका) का अधिकांश घर खाली छन् । त्यस्तै गुल्मी सत्यवती गाउँपालिकाको भार्से, कालीगण्डकी गाउँपालिकाको फोक्सिङ, खड्गकोट, जयखानी अर्घाखाँचीको पाणिनी, बलकोट, गोखुङगा क्षेत्रका गाउँहरू ६० देखि ९० प्रतिशतसम्म घर खालि भइसकेका छन् । बसाइँसराइ नभएका गाउँका घरमा पनि वृद्धवृद्धा मात्र छन् । 

बाग्लुङको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले गाउँका मानिसहरूमा शहरीया मानसिकता बढ्दै जाँदा बसाइँसराइले भयावह रूप लिएको बताए । 

प्रकाशित मिति: : 2020-11-01 12:08:00

प्रतिकृया दिनुहोस्