'प्रवास' लिएर झुल्किए उपन्यासकार सुमित शर्मा ‘समीर’

बिएल संवाददाता

काठमाडाै‌ं

संसार कोरोना भाइरस विश्वव्यापी महामारीमा बन्धक बनेको कठिन समयमा सुमित शर्मा ‘समीर’ द्वारा लिखित उपन्यास ‘प्रवास’ पाठकमाझ आइपुगेको छ । 

नेपाली साहित्यानुरागीका लागि नयाँ विषयवस्तु अनि रोचक र सरल प्रस्तुति रहेको छ– उक्त उपन्यास । जीवनको युवावयका महत्वपूर्ण दुई वसन्त क्यानाडामा बिताएका ‘समीर’ ले त्यसै बेला साक्षात्कार गरेका पात्रहरुलाई उपन्यासमा प्रस्तुत गरेको सहज अनुमान गर्न सकिन्छ । 

नेपाली साहित्यमा एउटा नयाँ गहनाको रुपमा थपिएको छ– ‘प्रवास’ । ‘प्रवास’ले पाठकलाई देशको परिवेश र पारिवारिक वातावरणसँग दिक्क भएर नयाँ अवसर र स्वतन्त्रताको खोजीमा क्यानाडा गएर काम गर्ने शिक्षित वर्गको मनोविज्ञान, जीवनशैली र व्यवहारसँग साक्षात्कार गराउँछ ।

नेपाली हिन्दु संस्कारमा हुर्केका युवा–साहित्यकार हुन्– ‘समीर’ । उनले इस्लामिक समाज पात्र र प्रवृत्तिलाई उपन्यासममा रोचक ढंगले प्रस्तुत गरेका छन् । 

उपन्यासको मूल पात्र अर्थात् हिरो अलीजीका पुर्खाले घुमन्ते जीवन बिताएका थिए । पूर्वी इरानबाट अफगानिस्तान गएका थिए– उनका पुर्खा । 

अलीका हजुरबा अफगानिस्तानबाट भारतको जालन्धर बसाइँ सरे । अनि १९४७ मा भारतबाट पाकिस्तान अलग भएपछि पाकिस्तानको लाहोरमा बसाइँ सरेको परिवारका सदस्य हुन् अली । उनी लाहोरमै जन्मि हुर्केका हुन् ।

मध्यम स्तरको आयबाट जेनतेन परिवार धान्दै आएका यी इञ्जिनीयरको क्यानाडा बसाइ, त्यहाँ बस्दाको मनोविज्ञान, सरसङ्गत र व्यवहारलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।

मूल पात्र अलीले पत्नी जारा र छोरी आयशासँग धानेको सामाजिक सम्बन्धले अहिलेको संसारले बाँचिरहेको समाजलाई प्रतिविम्बित गर्छ । 

उपन्यासमा अलीको भोगाइसँग कहीँ न कहीँ अहिलेको नेपाली समाजका पनि शिक्षित वयस्क पुरुषले आफूभित्रको भोगाइ वा सोचाइको प्रतिविम्व महसु गर्छ । 

क्यानाडा गएपछि भारतीय मूलकी सुन्दर युवती रियासँग अलीको भेट र जोडिएको सम्बन्धले स्वतन्त्रताको खोजीमा बाध्यतावश अर्थाेपार्जनका लागि विदेशिन विवश मध्यमवर्गीय चरित्रलाई चित्रण गर्छ । समुदायमा हल्ला भएपछि परिवारसँगको डरले पुनः अलग भएको प्रसंग रोचक छ ।

अलीभन्दा पहिला क्यानडा गएका पाकिस्तानी आप्रवासी दम्पती आहिल र हसिता, त्यहाँको स्टोरमा काम गर्ने नेपाली युवक रञ्जनको सहयोगी स्वभाव अनि क्यानेडियन विलियमको मनोविज्ञान र व्यवहार पनि यथार्थपरक छन् । 

पात्रहरुको मुखबाट कथा भनिएको छ । संवादबाट कथा भनिएकोले यो उपन्यास पढ्न सजिलो छ । 

अग्रज पत्रकार (भाषाविद्) शरच्चद्र वस्तीले सम्पादन गरेको उपन्यास भाषा र प्रस्तुतिका दृष्टिले पनि राम्रो छ , अत्यन्त छरितो, एक बसाइमा सकिने उक्त उपन्यास ‘ग्लोबल समाज’ समाजको ऐना हो ।

 उपन्यासको विषयवस्तुले अंग्रेजी भाषाको संस्करणको माग गर्दछ ।

प्रकाशित मिति: : 2020-11-03 11:31:00

प्रतिकृया दिनुहोस्