मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा

मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपीएल)को प्लेअफमा पुगेको छ।

युएईमा जारी १३ औँ संस्करणको आइपीएल अन्तर्गत मंगलबार राती भएकाे खेलमा हैदराबादले प्लेअफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ। 

जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍याे। हैदराबादको सानदार जितमा कप्तान डेभिड वार्नर ८५ रनमा अविजित रहे। उनले ५८ बलमा १० चौका र छक्का १ हिर्काए।

 अर्का ओपनर ऋद्धिमान शाह ४५ बलमा ७ चौका र १ छक्का सहित ५८ रनमा अविजित रहे।

वार्नर र साहाले पहिलो विकेटका लागि अविजित रहदै १ सय ५१ रनको साझेदारी गरे।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो। मुम्बईका काइरन पोलार्डले ४१ रनको योगदान दिए। उनले २५ बलमा २ चौका र ४ छक्का हिर्काए।

यस्तै सूर्यकुमार यादवले ३६ रन जोड्दा इशान किशनले ३३ रन जोडे। यादवले २९ बलमा ५ चौका प्रहार गरे। किशनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे। 

ओपनर क्विन्टन डी कक २५ रनमा बोल्ड आउट भए। डी ककले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए।

जेम्स प्याटिनसन ४ रनमा अविजित रहे। कप्तान रोहित शर्मा ४ रनमा क्याच आउट भए। 

हैदराबादका सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। शहबाज नदीमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।

समान १४ अंक भएपनि नेट रनरेटको आधारमा हैदराबादले कोलकातालाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाएको। समान १४ अंक भएपनि हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहँदै प्ले अफमा पुग्दा कोलकाता पाँचौं स्थानमा रहेर बाहिरियो।

अन्तिम खेलमा हैदराबादसँग पराजित भएपनि मुम्बई शीर्ष स्थानमा रह्यो। मुम्बईले १४ खेलमा १८ अंक जोड्यो। मुम्बईले अब क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ।

दिल्ली १४ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो। पहिलो क्वालिफायर बिहीबार दुबईमा हुनेछ। इलिमिनेटर खेल शुक्रबार आबुधाबीमा हुनेछ।

क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टिमले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायर खेल्ने छ।

दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टिम भिड्ने छन्। दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: : 2020-11-04 06:38:00

प्रतिकृया दिनुहोस्