सरकार भन्छ एक सातामै भुक्तानी, बीमा कम्पनी भने अझै गर्दै छन् आनाकानी

देखापढी

काठमाडौँ
सांकेतिक तस्बिर

निकेश खत्री    

कोरोना बीमाको दाबी भुक्तानी दिन बीमा कम्पनीहरूले आनाकानी गरेपछि अर्थ मन्त्रालयले गत मंगलबार नयाँ निर्देशन जारी गरेर एक साताभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ।

कोभिड-१९ बीमाको भुक्तानीका लागि सरकारले निर्देशन दिइरहनुपर्ने विषय भने होइन। कोभिड-१९ बीमा निर्देशिकामा नै दाबी परेको एक हप्ताभित्रमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था छ। तर, बीमा कम्पनीहरू भने दाबी भुक्तानी गर्न मानिरहेका छैनन्।
 
बीमा कम्पनीहरूले रवैया देखाउन थालेपछि अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्रै भुक्तानी दिन निर्देशन दिएका हुन्।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले अर्थ मन्त्रालयको निर्देशनपछि सबै बीमा कम्पनीलाई बाँकी रहेको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिइसकेको बताए।

उनले भने, “अर्थ मन्त्रालयमा भएको छलफलपछि सबै कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको रकम तत्काल दिन भनिसकेका छौं।”

दाबी भुक्तानीमा किन आनाकानी ?

बिमक संघका अनुसार अहिलेसम्म देशभरका १८ लाख जनाले कोरोना बीमा गरेका छन्। दाबी भुक्तानी माग गर्ने बीमितको संख्या १५ हजार पुगेको छ।

त्यसमध्ये दुई हजारले मात्रै भुक्तानी पाएको बीमा समितिको तथ्यांक छ। उक्त भुक्तानी दिँदा कम्पनीहरूको २० करोड रूपैयाँ खर्च भएको छ।

बीमा कम्पनीहरूले विभिन्न बहाना देखाएर भुक्तानीमा ढिलाइ गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-11-05 12:02:00

प्रतिकृया दिनुहोस्