राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान (भिडियाे)

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन्।

राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन्। भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने उनी १८ औं व्यक्ति बनेका छन्।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ।

सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ। तत्कालीन व्रिटिस इन्डियाले गोर्खा सैनिकलाई आफ्नो मातहतमा काम गराउनका लागि प्रोत्साहन स्वरुप मानार्थको सम्मान दिने चलन सुरु गरेको थियो। त्यसबेला महासेनानीबाट सम्मान दिन सुरु गरिएको थियाे। 

दोस्रो विश्वयुद्धको अन्त्यपछि २४ अक्टोबर १९४५ मा नेपाल भ्रमण गरेका बेलामा ब्रिटिस इण्डियाको तर्फबाट सेना प्रमुख सर क्लाउडेलाई पहिलो पटक मानार्थ जर्नेलको सम्मान दिइएको थियाे। तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले उनलाई मानार्थ जर्नेलको दर्ज्यानी चिह्न दिएका थिए।

तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए।

त्यसपछि भारतबाट सेनाध्यक्ष राजेन्द्र सिंहजी जडेजा, सत्यवन्त मल्लना (एसएम) श्रीनागेस, तपीश्वर नारायण रैना, ओम प्रकाश मलहोत्रा, के वी कृष्ण राव, अरुण श्रीधर वैद्य, सुनीत फ्रांसिस रोड्रिग्स, शंकर राय चौधरी, वेद प्रकाश मलिक, सुन्दरराजन पद्मनाभन, निर्मल चन्द्र विज, दीपक कपूर, विजय कुमार सिंह, बिक्रम सिंह, दलबीर सिंह सुहाग र विपीन रावत गरी १७ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन्।
 

प्रकाशित मिति: : 2020-11-05 17:10:00

प्रतिकृया दिनुहोस्