‘महामारीको अझै खराब लहर आउन बाँकी छ, हात जाेडेर आग्रह गर्छु– मास्क लगाउनुहोस्’

बिएल संवाददाता

न्यूयाेर्क

राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनले जाडो याममा कोरोना महामारीको अझै खराब लहर आउन बाँकी रहेको भन्दै अमेरिकीलाई सचेत गराएका छन्। 

चुनावमा एतिहासिक जित हात पारेपछि सोमबार टेलिभिजनमार्फत सम्बोध गर्दै उनले सचेत गरेका हुन्।

‘अमेरिकाले भयावह अवस्थाको सामना गरेको छ। महामारीको अझै खराब लहर आउन बाँकी रहेको छ। तपाईँहरुसँग हात जाेडेर आग्रह गर्छु, मास्क लगाउनुहोस्,’ उनले भनेका छन्।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देश हो अमेरिका। 

यहाँ अहिलेसम्म एक करोड ३६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। दुई लाख ३८ हजार भन्दा बढिको ज्यान गएको छ।

चुनावी अभियानका क्रममा पनि वाइडेनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए।

‘तीव्र गतिमा फैलिरहेको कोरोना महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको मास्क। यसलाई नियन्त्रण गर्न बाहिर वा सार्वजनिक स्थानमा निसक्न अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ,’ वाइडेनलले भने।

कोरोना महामारीसँग जुध्न अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने पनि उनले बताएका छन्।

‘मास्क राजनीतिक अभिव्यक्ति होइन,’ उनले भने, ‘यो त देशलाई एकताको सुत्रमा बाँध्ने माध्यम हो।’

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन्।

वाइडेनले तीन सह–अध्यक्ष तथा १० सदस्यसहितको कोरोना भाइरस टास्क फोर्स घोषणा गरेका हुन्। उनीहरुले विज्ञानलाई मान्ने बताएका छन्। 

प्रकाशित मिति: : 2020-11-10 07:00:00

प्रतिकृया दिनुहोस्