'कुमारी घरका झ्यालढोकामा तेल घस्ने हो, रसायन दल्ने होइन'

सेतोपाटी

काठमाडाैं

काठमाडौंको कुमारी घरमा रंग लगाइरहेका बेला त्यहाँका संरक्षक (चिताइदार) गौतम शाक्यले अघिल्लो वर्ष नै रोक लगाएका थिए।

दुई सय ५० वर्षको इतिहास बोकेको कुमारी घरको झ्यालमा सुनौलो रंग लगाउने कार्य उनलाई ठिक लागेन।

त्यो बेला उनको आपत्तिपछि काठमाडौं महानगरपालिकाले झ्याल सफा गरेर मात्र छाड्यो। सुनका झ्यालसँगै यहाँ कलात्मक मयूरझ्याल, आँखीझ्यालहरू पनि छन्। ती काष्ठकलामा पनि ‘ब्ल्याक जापान’ भन्ने रंग प्रयोग हुन्थ्यो। तुरून्तै नसुक्ने र च्यापच्याप भएपछि नराम्रो भयो भन्दै गौतम आफैंले विरोध जनाएका रहेछन्।

त्यही विरोधका कारण महानगरपालिकाले यसपालि ‘ब्ल्याक जापान’ को सट्टा ‘ब्ल्याक अक्साइड’ प्रयोग गरेको छ। 

पहिलेभन्दा राम्रो देखिएपछि गौतमलाई यो रंग चित्त बुझेको छ। ‘परेवाहरूले बिस्टाएर फोहोर बनाइरहनुभन्दा रंग लगाएकै राम्रो। रंगको गन्धले कीराहरू पनि मर्छन्,’ गौतमले भने, ‘हेर्दा राम्रै देखिएकाले राम्रै होला भन्ठानेको छु। यसको विज्ञ नभएकाले ठिक हो कि होइन भन्ने चाहिँ थाहा भएन।’

सम्पदा अभियन्ताहरूले भने पुरातात्विक र सांस्कृतिक महत्वको विश्व सम्पदा स्थलहरूमा रासायनिक रंगको प्रयोगलाई लिएर विरोध गरेका छन्।

सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर केही दिनअघि कुमारी घरकै बाटो हिँड्दै थिए। उनले 'ब्ल्याक अक्साइड' रंग प्रयोग भइरहेको त्यही बेला देखेका हुन्। त्यो कस्तो खालको रसायन हो भन्ने उनलाई सुरूमा जानकारी थिएन। उनले यत्ति बुझेका थिए– काठलाई त्यसै छाड्ने हो, त्यसमाथि रासायनिक वस्तुको लेप लगाउने होइन। यसलाई टल्काउने नै हो भने त्यसको निम्ति परम्परागत विधि अपनाउनुपर्छ।

'मैले घर फर्केर ब्ल्याक अक्साइडबारे खोजबिन गरेँ। यो त स्टिल, धातुमा प्रयोग गर्नुपर्ने रसायन पो रहेछ। यसले त उल्टै काठ बिगार्ने रहेछ। त्यसपछि म झसंग भएँ,' तुलाधरले सेतोपाटीसँग भने, 'महानगरले यस्ता कृत्रिम रसायन प्रयोग गरेर सम्पदा क्षेत्र विनाश गर्न हुन्न। यसलाई तुरून्त रोकिनुपर्छ।'

प्रकाशित मिति: : 2020-11-10 17:37:00

प्रतिकृया दिनुहोस्