बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुल्यो

बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाको परिचय खुलेको छ।

बिहीबार राति १० बजेतिर दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पे नजिकै ना ५ ख ५१४१ नम्बरको बस दुर्घटना भएको थियाे।

मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन्। 

दुर्घटनामा बैतडीको दोगडाकेदार ६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीले ज्यान गुमाएका छन्। 

यस्तै दार्चुलाको लेकम गाउँपालिका ४ का तर्कराज गिरी, दार्चुलाकै मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० का बिजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको दुर्घटनामा ज्यान गएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ। बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ 

बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको बस भीरबाट ६०० मिटर जति तल खसेको थियाे।

प्रहरी र स्थानीयबासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएकाे डिएसपी अधिकारीले जानकारी दिए। 

दुर्घटना बारे थप अनुसन्धान हुँदैछ।
 

प्रकाशित मिति: : 2020-11-13 12:36:00

प्रतिकृया दिनुहोस्