भाेलि बस्ने बैठकका एजेण्डाहरु तय गर्न प्रचण्ड– पाैडेलबीच भेट

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।

भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्नुअघि केपी शर्मा ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताहरुबीच सहमति जुटाउ उनी भेटघाटमा लागेका हुन्।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पार्टीभित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ। यसका साथै बुधबार बस्ने बैठकका एजेण्डाहरु के-के तय गर्ने भन्नेबारे छलफल भएकाे जनाइएकाे छ। 

गत २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्।

प्रधानमन्त्री निकट सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी समिति सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा लगायतले सार्वजनिक रूपमै प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका छन्।

पार्टीको विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठकको कार्यसूची तयार पारेर बैठकमा पेश गर्नुपर्ने हुन्छ। शुक्रबारको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरे पनि ठोस कार्यसूची तयार गर्न बाँकी रहेको र बुधबारको बैठकमा महासचिवले ठोस कार्यसूची बनाई त्यसमाथि छलफल हुने जनाइएकाे छ।

प्रकाशित मिति: : 2020-11-17 14:14:00

प्रतिकृया दिनुहोस्