अमेरिकामा एकैदिन दुईलाख कोरोना संक्रमित, परीक्षणका लागि अत्यासलाग्दो दृश्य

डा. प्रदीप भट्टराई

डिमोइन्स, अमेरिका

अमेरिकामा शुक्रबार एकै दिन दुई लाख एकहजारभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्। अमेरिकामा एकै दिन यति धेरै कोरोना संक्रमित भएको यो नयाँ कीर्तिमान हो। 

अमेरिकाको एक राष्ट्रिय चाड थैंक्स गिभिङ डे आउँदो विहीबार हो। यसको पूर्वसन्ध्यामा आकासिएको यो कोरोना कहरको ग्राफ घट्ने हैन, बढ्ने आशंका बढेको छ। 

लामो सार्वजिक विदा हुने, आफन्त भेट्न ठूलो संख्यामा यात्रामा निस्कने, जमघट आयोजना हुने जस्ता सम्भावित गतिविधिका कारण कोभिड- १९ संक्रमण अरू बढ्ने अनुमान गरिको हो। 

यसैबीच अमेरिकामा कोभिड-१९ को परीक्षण गर्नेको संख्या पनि अत्याधिक मात्रामा बढेको छ। सार्वजनिक परीक्षण केन्द्रमा हजारौ गाडीको लाइन देखिएको छ। मानिसहरू घण्टौ लगाएर परीक्षण गराइरहेका छन्। 

यसरी कोरोना कहरले तमासा देखाउँदा पनि राष्ट्रपति ट्रम्प भने ह्वाइट हाउसमा कसरी अडिने भनेर फोहोरी खेल नै खेलिरहेका छन्।

शुक्रबार मात्र उनले आफू राष्ट्रपति नभएको भए कोभिड १९ को खोप बन्न  अमेरिकालाई अरू चार वर्ष लाग्ने बताए। उनले आफ्नो सही नीतिकै कारण धेरै अमेरिकीको ज्यान बचेको दावी गरे। 

राष्ट्रपतिमा निर्वाचित बाइडनले कोरोना संक्रमणसँग जुध्न गरेको प्रयासका लागि बाधा खडा गरिरहेका ट्रम्पले भने, चुनाव मैले जितेको छु, त्यसैले अरूलाई सूचना दिने कुरै भएन।'

राष्ट्रपति ट्रम्पको यो जिद्दीले अमेरिका थप संकटमा पर्ने सम्भावना बढेको छ। अमेरिकाले उनको जिद्दीको ठूलो मूल्य चुकाउनुपर्ने बढ्दो सम्भावनासँगै अमेरिकामा अस्थिरता पनि बढेको छ। 

प्रकाशित मिति: : 2020-11-21 09:50:00

प्रतिकृया दिनुहोस्