स्पेनिस क्लबद्धारा तलबमा ६ सय मिलियन युरोको कटौती, बार्सिलोना ठूलो मारमा

बिएल संवाददाता

काठमाडाै‌ं

स्पेनिस लिगमा ला लिगाको पहिलो डिभिजन क्लबले करिब ६ सय मिलियन युरोको तलब कट्टा गरेको छ।  

क्लबले कोरोनाका कारण भइरहेको घाटाको कारण यस्तो निर्णय गर्नु परेको बताएको छ। यसमा सबैभन्दा बढी घाटा बार्सिलोना र भ्यालेन्सियाले उठाएको छ। यस्तै, रियल म्याड्रिडले यो सिजन सबैभन्दा धेरै पैसा खर्च गर्दैछ। 

ला लिगाका अध्यक्ष जेभियर तेबासले भने, ‘कोभिड–१९ का कारण समर्थक रंगशालामा नआउँदा धेरै घाटा बेहोर्नु परेको छ।’ स्पेनिस टिमले आफ्नो स्पोर्टिङ स्टाफको कूल बजेटबाट ५ सय मिलियन युरो कटौती गरेको बताएको छ। 

ला लिगाका कार्यकारी निर्देशक जोस गुएराले भने, ‘हामीले आर्थिक नियन्त्रणसम्बन्धी नियममा ३ वटा मुख्य परिवर्तन गरेका छौं। यो निर्णय कोरोनाका कारण गर्नुपरेको हो।’ बार्सिलोनाले हालै खेलाडीको तलबबाट ३० प्रतिशत रकम कटौती गरेको थियो। 

बार्सिलोनाले यो सिजन सबैको पारिश्रमिक गरेर ३ सय मिलियन युरो कटाएको छ। २०२०–२१ को सिजनका लागि बार्सिलोनाको तलब ३८२ दशमलव ७ मिलियन युरो छ, जुन गत सिजन ६७१ दशमलव ४ मिलियन युरोको तुलनामा निकै कम हो। 

तलब कटौती गरेपनि रियल म्याड्रिडले २०२०–२१ सिजनमा ४६८ दशमलव ५ मिलियन युरोको बजेट पास गरेको छ। गत सिजन म्याड्रिडको तलब ६४१ मिलियन युरो थियो। एट्लेटिको म्याड्रिडले तलबमा १३१ दशमलव ८ मिलियन युरो कटौती गरेको छ। 

कोरोनाका कारण यस वर्ष ला लिगाले पहिलो डिभिजनका २० क्लबका लागि २ दशमलव २२ बिलियन युरोको बजेट छुट्याएको छ, यो पछिल्लो सिजनको तुलनामा ६१० मिलियन युरो कम हो।

प्रकाशित मिति: : 2020-11-22 17:17:00

प्रतिकृया दिनुहोस्