नेकपा विवाद : जुटभन्दा बढी फूटकै कसरत !

लोकान्तर

काठमाडाैं

शुक्रवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरूसँग भने, 'परिस्थिति धेरै गम्भीर छ ।' पार्टीलाई विभाजनबाट जोगाउन निरन्तर खटिएका महासचिव पौडेलले देखेको 'गम्भीर परिस्थिति' त्यसयताका ३ दिनमा सामान्य हुन सकेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले प्रस्तावका रूपमा ल्याएको 'आरोपपत्र'को एक-एक जवाफ दिने बताइसकेका छन् । उनले आफ्नो सल्लाहकार टीमलाई जवाफ तयार गर्नसमेत निर्देशन दिइसकेका छन् ।

पार्टी विभाजन हुने छनक पाएरै जिल्ला-जिल्लामा रहेका कार्यकर्ताहरूबीच मनमुटाव बढिरहेको छ । शनिवार पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा ओलीपक्षीय कार्यकर्ताहरूले होहल्ला र नाराबाजी गरे । शनिवार नै सुर्खेतमा जनताको बहुदलीय जनवाद (जबज)को ब्यानरमा खुल्ला रूपमा कार्यक्रम गरियो ।

स्रोत भन्छ - 'पार्टी विभाजन हुने स्पष्ट आधारसहित तयारीमा रहन ७७ वटै जिल्लाका ओलीनिकट नेता कार्यकर्तामा अनौपचारिक सर्कुलेसन पुगेको छ ।'

यससँगै चितवनमा पाण्डेमाथि गरिएको दुर्व्यवहार अन्त पनि दोहोरिन सक्ने खतरा बढेको छ । शनिवारको घटना नदोहोरियोस भनेर पाण्डेले पोखराको एक रिसोर्टमा आइतवार गोप्य कार्यक्रम गरे । आइतवारको कार्यक्रममा ओलीनिकट नेता कार्यकर्ताहरू नछिरुन् भनेर विशेष सजगता अपनाइएको थियो ।

केही दिनयता प्रधानमन्त्रीको सक्रियता पनि व्हात्तै बढेको छ । शनिवार मात्र ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ३ घण्टाभन्दा बढी छलफल र कुराकानी गरेका छन् । संवैधानिक नियुक्तिका विषयमा कुरा गरिएको औपचारिक जानकारी आएपनि विभिन्न स्रोतहरूले दुई नेताबीच 'पावर सेयरिङ'का विषयमा पनि छलफल भएको जनाएका छन् ।

'माधव नेपालले धेरै पहिलादेखि दुख दिएका हुन्, दुख दिनेमा अहिले प्रचण्ड पनि थपिएका छन्,' ओलीको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, 'बरू प्रतिपक्षी भएपनि तपाईंले दुख दिनु भएको छैन । मेरो पार्टी फुट्ने लगभग निश्चित जस्तै छ । त्यसपछि तपाईको र मेरो सत्ता सहकार्य हुनुपर्यो ।'

प्रकाशित मिति: : 2020-11-23 00:15:00

प्रतिकृया दिनुहोस्