प्रधानमन्त्री ओलीले जवाफ नदिँदै प्रचण्डको प्रस्ताव पुस्तकका रुपमा वितरण, पार्टी फुटाउने तयारी गरेको भन्दै नेकपाभित्र खैलाबैला

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई आरोपहरु लगाउँदै सचिवालय बैठकमा वितरण गरेको १९ पृष्ठको दस्तावेज छापेर वितरण गरेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

नेकपा सचिालयको मंसिर ३ को बैठकमा प्रधानमन्त्री ओली र सचिवालय सदस्यहरुलाई वितरण गरेको उक्त ‘राजनीतिक प्रस्ताव’ लाई सोही बैठकमा ओली अस्वीकार गरेका थिए । ओली समूहले ‘अराजनीतिक आरोपपत्र’ भन्दै आएको उक्त दस्तावेजलाई नेकपा ‘नेकपा केन्द्रीय कार्यालय’ को नाममा वितरण गरिएको छ ।

नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने यो केन्द्रीय कार्यालयको नाममा छापे पनि केन्द्रीय कार्यालयको जानकारी बेगर छापिएको बताए । 

‘केन्द्रीय कार्यालयले केही पनि जानकारी छैन भन्यो । मैले हिजो दुई जना कार्यालय सचिवसँग पनि कुरा गरेँ । कार्यालय सचिव श्रीराम ढकाल स्याङ्जा तनहुँतिर हुनु हुँदो रहेछ– शुक्रबारदेखि नै । केही थाहा छैन, जानकारी छैन भन्नुभो’, नेकपा प्रचार तथा प्रकाशन विभाग उपप्रमुखसमेत रहेका थापाले बिएल नेपाली सेवासँग भने, ‘अर्का कार्यालय सचिव ईश्वरी रिजालले पनि जानकारी छैन भन्नुभो । प्रचार तथा प्रकाशन विभागको उपप्रमुख मै हुँ । मलाई पनि जानकारी छैन ।’

थापाले ‘केन्द्रीय कार्यालयको नोटिश बेगरै केन्द्रीय कार्यालयका नाममा छापिएको अनधिकृत गैरजिम्मेवार कार्य’ कार्यकारी अध्यक्ष प्रचण्डले गरेको पनि आरोप लगाए । 

उनले प्रचण्डले पार्टी विभाजनको तयारी गरेको, अराजकता देखाएकाले कारवाहीको विषय समेत रहेको बताए । 

‘यो विधानविपरीत, पार्टी विभाजनको निम्ति चालिएको कदम हो’, थापाले भने, ‘जुन विषयमा छलफल गर्न सचिवालयको बैठक मंसिर १३ गतेका लागि तय भएको छ, त्यसको जवाफ आउनै बाँकी छ । आफूखुशी पार्टीपंक्तिमा लैजाने भनेको घनघोर अनुशासनहीनता र अराजकता हो । यो कारवाहीको विषय हो ।’

यही विषयमा छलफल गर्न मंसिर १३ गते सचिवालय बैठक डाकिएको अवस्थामा केन्द्रीय कार्यालयको नाममा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको प्रस्ताव प्रचण्डले छापेर पठाएकोमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत जानकारी छैन ।

प्रधानमन्त्रीको जवाफ नआइसक्दै राजनीतिक प्रस्ताव छापेर बाँडिएकोमा पार्टीभित्र विधि र पद्धतिको कुरा गर्ने वरिष्ठ नेता नेपालसमेत सन्तुष्ट बनेका छन् । नेपालले यसबारे प्रचण्डसँग आफ्नो असहमतिसमेत जनाइसकेको पनि नेकपा स्रोतको दाबी छ ।

प्रकाशित मिति: : 2020-11-25 11:52:00

प्रतिकृया दिनुहोस्