जुम्लाबाट प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङल्यामु लामाको चरित्र हत्या गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा नेता रमेशबहादुर बाग पक्राउ परेका छन्।
राप्रपानिकट प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य बागलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार पक्राउ गरेको हो। उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।
बागले सामाजिक सञ्जाल फेसबुकमार्फत लामाले एक युवकसँग चुम्बन गरिरहेको टिकटक भिडियो सेयर गरेका थिए। लामाको चुम्बनका दृश्य केही पत्रपत्रिकाहरूमा समेत सार्वजनिक भइसकेका छन्।
मिडियामा समेत आइसकेको काण्ड सेयर गरेकै आधारमा आफ्ना युवा नेता पक्राउ परेपछि राप्रपाका नेताहरूले आपत्ति जनाएका छन्। जुम्लाबाटै प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले सांसद लामाले आफैंले सार्वजनिक गरेको भिडियो सार्वजनिक गर्दा आफ्ना नेता पक्राउ परेको भन्दै भत्सर्ना गरेका छन्।
शाही भन्छन्, ‘जुम्लाकी समानुपातिक सांसदले काण्ड आफैं मच्चाउने उक्त काण्डको भिडियो आफैं पोस्ट गर्ने, एउटा राष्ट्रिय साप्ताहिक पत्रिकामा लेख्न आफैं लगाउने, तर उक्त लेखेको लेख र उक्त लेखेको भिडियो यो के हो? भनी प्रश्न गर्दा मान्छेलाई थुन्ने यस्ता अलोकतान्त्रिक गतिविधिको हामी घोर भत्सर्ना गर्दछौं।’
त्यस्तै राप्रपाले एक विज्ञप्ति नै जारी गर्दै आफ्ना युवा नेता पक्राउको विरोध गरेको छ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बागलाई सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेकै आधारमा पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
‘राष्ट्रियस्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयंले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दु:ख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ,’ उनले भनेका छन्।
युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि राप्रपा राप्रपाले माग गरेको छ।
यता सांसद लामाले भने एआईको माध्यमबाट भिडियो बनाएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले बागले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपसहित उजुरी दिएको ब्यूरो स्रोतले जनाएको छ।
गत असार १९ गते बागले सांसद लामाले एक युवकसँग ओठमा चुम्बन गरिरहेको टिकटक भिडियो आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए।
बागले सेयर गरेको टिकटक भिडियो chiring12sep नामको टिकटक अकाउन्टमा पोस्ट गरेको देखिन्छ। उक्त अकाउन्ट सांसद लामाकै भएको र आफूले सोही अकाउन्टको भिडियो फेसबुकमा सेयर गरेको बागले प्रहरीसमक्ष बयान दिएका छन्।
जनआस्था साप्ताहिकले पनि गत बुधबार सांसद लामाको चुम्बनसहितको तस्बिर पाठकपत्रमार्फत सार्वजनिक गरेको थियो।