म्याराडोनाको निधनमा शंका, चिकित्सकको घर र क्लिनिकमा छापा

बिएल संवाददाता

काठमाडाै‌ं

अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनलाई लिएर पुनः विवाद सुरु भएको छ। 

म्याराडोनाका तीन छोरीले आफ्नो बुवाको उपचारमा ठूलो लापरवाही भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेका छन्। 

ब्युनोस आयर्स प्रहरीले घटनाको छानवीन गर्न म्याराडोनाका निजी चिकित्सक लियोपोल्डो लुक्वीको घर तथा क्लिनिकमा निधनको चार दिनपछि छापा हानेको छ। 

पारिवारिक श्रोतका अनुसार छोरी डाल्मा, जियानिन्ना र जानाले घरमा उनको मुटुको समस्या हुँदा भइरहेको उपचारमा पनि शंका जनाएका छन्। न्युज एजेन्सीले म्याराडोनाको चिकित्सकसँग सम्पर्क गर्न खोज्दा उनले कुनै टिप्पणी दिन चाहेनन्। 

लियोपोल्डो लुक्वीले १२ नोभेम्बरमा म्याराडोनासँग खिचेको एउटा फोटो सोसल मिडियामा पोस्ट गरेका थिए। यो दिन म्याराडोनाको ब्रेनमा भएको ‘ब्लड क्लट’ हटाउन गरिएको सर्जरीपछि अस्पतालबाट छुट्टि दिइएको थियो। 

म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार हद्यघातका कारण निधन भएको थियाे। दुई साताअघि उनलाई अस्पतालबाट छुट्टि दिइएको थियो। यसअघि उनी ब्रेन सर्जरीका लागि अस्पताल भर्ती भएका थिए।

प्रकाशित मिति: : 2020-11-30 12:52:00

प्रतिकृया दिनुहोस्