महिला प्रेमी वाइडेन, येलेनलाई वित्त र एडीयेमोलाई उप वित्तमन्त्री बनाउने प्रस्ताव

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले ज्यानेट येलेनलाई वित्त मन्त्रालयकाे जिम्मेवारी दिने घोषणा गरेका छन्।

फेडरल रिजर्भकी पूर्वअध्यक्षसमेत रहेकी ७४ वर्षीया येलेनलाई उनले आफ्नो वित्त मन्त्री बनाउने घाेषणा गरेका हुन्।

वाइडेनले वित्त मन्त्रीका लागि प्रस्ताव गरिएकी येलेन वरिष्ठ अर्थशास्त्री हुन्। उनले अमेरिकाको केन्द्रीय बैंकको प्रमुखका रुपमा सेवा गरेकी थिइन्।

यस्तै उनले पूर्व राष्ट्रपति बिल क्लिन्टनको शीर्ष आर्थिक सल्लाहकारका रुपमा पनि काम गरेकी थिइन्। उनले सन् २००७ को आर्थिक मन्त्रीबाट अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थिइन्।

माथिल्लो सदन सिनेटले प्रमाणिकरण गरेमा येलेन वित्त मन्त्रीको जिम्मेवारी पाउने उनी पहिलो महिला हुने छिन्।

यता वाइडेनले बाराक ओबामा प्रशासनमा काम गरेका वले एडीयेमोलाई उप वित्त मन्त्री तथा अर्थशास्त्री सिसिलिया राउजलाई आर्थिक सल्लाहकार समितिको अध्यक्षका रुपमा मनोनित गरेका छन्।

उनीहरुको अनुमोदन भएमा सो जिम्मेवारीमा पुग्ने दुवै पहिलो अश्वेत अमेरिकी हुने वाइडेन टिमले जनाएको छ।

यस्तै वाइडेनले चीनरा टण्डनलाई अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटको प्रमुखका रुपमा प्रस्ताव गरेका छन्।

उनको नाम अनुमोदन भएमा उनी सो जिम्मेवारी पाउने पहिलो दक्षिण एसियाली अमेरिकी हुने छिन्।

 वाइडेनले आफ्नो टिम प्रमाणिकरण भएमा रंगभेदको अवरोध तोड्ने बताएका छन्।

उनले लगातार विविधतायुक्त प्रशासनको विकास गर्ने बताउँदै आएका छन्। यसअघि उनले सम्पूर्ण महिलासहितको ह्वाइट हाउस प्रेस टिम घोषणा गरेका थिए।

वाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्।

प्रकाशित मिति: : 2020-12-01 07:31:00

प्रतिकृया दिनुहोस्