जर्जियामा तेस्रो पटक भएको मतगणनामा पनि वाइडेन विजयी

जो वाइडेन अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक भएको मतगणनामा विजयी घोषित भएका छन्।

रिपब्लिकनहरुको पकड क्षेत्र मानिदै आएकाे जर्जियामा वाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेका हुन्।

ट्रम्पले दुई दिनअघि राज्यको भ्रमण गरेर सार्वजनिक कार्यक्रममा धाँधलीको आरोप लगाएपछि जर्जियाको तेस्रो पटक भएको मतगणनाको नतिजा आएको हो।

सुरुका दुई चरणको मतगणनामा पनि ट्रम्प वाइडेन भन्दा पछि नै रहेका थिए। तेस्राे पटक पनि वाइडेनले पछि पारेपछि जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले राष्ट्रपतिमा राज्यबाट वाइडेन विजयी भएको पुनः घोषणा गरेको छ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राडले सोमबार एट्लान्टामा भएको पत्रकार सम्मेलनमा भने, ‘हामीले वैध रुपमा खसालिएका मत तीन पटक गन्यौँ र नतिजा उस्तै रह्यो।’

ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन्। उनले बिना प्रमाण धाँधलीको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले विभिन्न ब्याटलग्राउण्ड राज्यमा आफ्नो हारलाई जितमा परिणत गर्न वा नतिजा उल्ट्याउनका लागि गरेको सबै कानूनी प्रयासहरु प्रमाण खारेज भएका छन्। 

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। वाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ। वाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन्।

प्रकाशित मिति: : 2020-12-08 07:31:00

प्रतिकृया दिनुहोस्