पाकिस्तानको १ दशमलव ५ बिलियन डलर ऋण फेरि चीनले तिर्दै

पाकिस्तान सरकारले साउदी अरबसँग लिएको ऋण चुक्ताका लागि चीनसँग १ दशमलव ५ बिलियन डलर सहयोग माग गरेको छ। 

साउदी अरबले गत वर्ष पाकिस्तानलाई ६ दशमलव २ अर्ब डलर ऋण प्रदान गरेको थियो। तर, चीनसँग पाकिस्तानको सम्बन्ध नजिकिन थालेपछि साउदीले आफूले दिएको ऋण फिर्ता गर्न ताकेता गर्दै आइरहेको थियो। 

पहिले साउदी र पाकिस्तानबीच सम्बन्ध निकै राम्रो थियो। देशको खस्किदो आर्थिक अवस्थालाई माथि उठाउन इमरान खानले आफूू प्रधानमन्त्री नियुुक्त भएपछि अन्तर्राष्ट्रिय मनिटरी फण्ड (आईएमएफ) र एसियन डेभलपमेन्ट बैक (एडीबी) सँग ऋण माग गरेका थिए। 

यी दुुबै बैक पाकिस्तानलाई पैसा दिन सकारात्मक भएपनि कडा सर्तका कारण इमरान सरकार पछाडि हटेको थियो। यस्तो अवस्थामा इमरानलाई साउदीले ६ दशमलव २ अर्ब डलर उपलब्ध गराएको थियो। यसमा ३ अर्ब डलर साधारण कर्जा थियो भने ३ दशमलव २ अर्ब डलर पेट्रोल र डिजेलमा क्रेडिट माग गरेको थियो। 

पाकिस्तानले यो ऋण एक वर्षमा तिर्नुपर्ने सम्झौंतामा उल्लेख थियो। यसैबीच विश्वब्यापी रूपमा चीन र अमेरिकाको बिग्रिएको सम्बन्ध तथा पाकिस्तानको चीनतर्फको झुकावका कारण साउदीले आफ्नो ऋण समयमै चुुक्ता गर्न पाकिस्तानलाई दबाब दिएको थियो। 

पहिले अमेरिका, पाकिस्तान र साउदीबीच विशेष सम्बन्ध थियो। तर, त्यो समिकरण अहिले भंग भइसकेको छ। साउदीको दबाबका कारण केही महिनाअघि चीनकै सहयोगमा पाकिस्तानले १ अर्ब डलर ऋण चुक्ता गरेको थियो। 

स्टेट बैक अफ पाकिस्तान र वित्त मन्त्रालयले हालै सार्वजनिक गरेको एउटा रिपोर्टमा सोमबारसम्म साउदीलाई थप एक अर्ब डलर फिर्ता गरिसकने लक्ष्य छ। बाँकी एक अर्ब डलर जनवरी महिनासँग चुक्ता गरिने पनि पाकिस्तानका विभिन्न मिडियाले जानकारी दिएका छन्। 

पाकिस्तानले तीन महिनाको अवधिमा दोस्रो किस्ता तिर्न लागेको हो।
 

प्रकाशित मिति: : 2020-12-13 17:37:00

प्रतिकृया दिनुहोस्