हामी लिडिङ पार्टी हौँ, अदालतबाट संसद पुनर्स्थापना हुन्छ: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन नभएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार विघटन भएको प्रतिकृया दिएका छन्। 

मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा प्रचण्डले ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै अझै पनि संसद विघटन नभएको बताए।

‘हामी लिडिङ पार्टी हौँ। संसद विघटन मान्न तयार छैनौँ। हामीले अदालतमा अपिल गरेका छौं। अदालतबाट संसद पुनर्स्थपना हुन्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने।

उनले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको बताए।

‘बैठकस्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी छ। ६५ प्रतिशत सदस्य हामीसँगै रहेकाले यो समूह नै आधिकारीक हो।’ 

बैठकमा तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति रहेको भन्दै उनले यो ती दुई पार्टी मिलेर बनेको नेकपा भएका कसैंलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे । 

‘उपाध्यक्ष गौतम पनि यही समूहमा आउनुहुन्छ। भोलिबाट बादलले पनि सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ,’ अध्यक्ष प्रचण्डले भने। 

ओलीले बोलाएको बैठकलाई अवैधानिक रहेको जिकिर गर्दै उनले बिहान गरेको बैठक नौटंकी मात्रै भएको उनले बताए।

‘आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ?,उनले ओलीलाई प्रश्न गरे।

यस्तै उनले एक तिहाइ भन्दा कम सदस्य उपस्थित नभएर दुई तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु गलत कदम भएको पनि बताए।  

‘यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्,’ उनले भने

यस्तै उनले  केन्द्रीय कमिटी बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय गरेको पनि बताए।

बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो। 

प्रकाशित मिति: : 2020-12-22 17:19:00

प्रतिकृया दिनुहोस्