पीएसजीको सहज जित

बिएल संवाददाता

काठमाडाै‌ं

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासवर्गमाथि ४–० को सानदार जित निकालेको छ ।

घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा अन्तिम ११ मिनेटमा तीन गोल सम्भव भएपछि पीएसजीको फराकिलो जित हात पारेकाे हाे।

पीएसजीकाे जितमा टिमोथी पेम्वेले, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र मोइस किनले गोल गरे । 

खेलको १८औं मिनेटमा पेम्वेलेको गोलबाट पीएसजीले अग्रता लियाे।

७९औं मिनेटमा एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

८८औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा इड्रिसाले गोल गर्दै पीएसजीलाई ३–० काे अग्रता दिलाए।

 इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोइस किनले गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै पीएसजी १७ खेलबाट ३५ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ । शीर्षस्थानमा रहेको लियोन र लिलको समान ३६ अंक छ । १७औं स्थानमा रहेकाे स्ट्रासवर्गकाे १४ अंक छ ।

प्रकाशित मिति: : 2020-12-24 07:28:00

प्रतिकृया दिनुहोस्