नाराबाजी गर्दै पठाओ कार्यालय घेराउ

बिएल संवाददाता

काठमाडाै‌ं

राइड सेयरिङ एप पठाओकाले चर्को नाराबाजी गर्दै पठाओ कार्यालय घेराउ गरेका छन्। हाल चालकहरुलाई यात्रुले तिरेको २० प्रतिशत कमिसन कम्पनीलाई बुझाउनुपर्छ।

राइडरहरुले कम्पनीले लिने गरेको धेरै कमिसनले आफूहरु मारमा परेको बताउँदै उनीहरुले कमिसन ८ प्रतिशतमा झार्नुपर्ने माग गरेका छन्।

त्यस्तै, उनीहरुले बाइकको बिमा कम्पनीले गरिदिनुपर्ने माग पनि गरेका छन्। त्यसैगरी राइड सेयरिङका क्रममा दुर्घटना भएमा यात्रुले पनि क्षतिपूर्ति र उपचार खर्च पाउने गरी बिमा गर्नुपर्ने उनीहरुको माग छ।

कम्पनीले सामान्य नियम नमानेकै कराण सस्पेन्ड गर्ने गरेको र कारवाही फुकाउन १ हजार १ सयभन्दा बढी जरिवाना तिर्नुपरेको भन्दै नियम संशोधनको माग पनि गरेका छन्।

उनीहरुले युएन पार्कबाट कम्पनीविरुद्ध र्याली निकालेर पठाओको कार्यालय मध्येवानेश्वर घेराउ गरेका हुन्।

उक्त माग एक हप्ताभित्र पुरा गर्न राइडरहरुले सोमबार कम्पनीलाई अल्टिमेटम दिएका थिए। सो दिनसम्म पनि आफूहरुको माग पूरा नभए सामूहिक रुपमा कम्पनी त्यागको घोषणा गर्ने चेतावनी राइडरहरुले दिएका थिए।

पठाओले भने राइडरहरुको अनावश्यक होहल्ला रहेको प्रेस विज्ञप्ति जारी गरेको छ। म्पनीको नीति, नियम र अनुशासनमा नरहेका र केही उच्छृङ्खल तत्त्वहरुले कम्पनीलाई बदनाम गर्न लागेको उसको प्रतिक्रिया छ।

अहिलेको आन्दोलन वास्तविक पठाओ राइडरहरुको आन्दोलन नभएर केही बदमास, कम्पनीको विरोध गर्ने र उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरु रहेको पठाओ कम्पनीको भनाइ छ।

उनका अनुसार केही राइडरको गम्भीर र जायज मागहरु कम्पनीले मनन् गरेको छ। तर हुनै नसक्ने, पुरा गर्न नसकिने मागहरुलाई कम्पनीले खारेज गर्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2020-12-28 12:24:00

प्रतिकृया दिनुहोस्