ओलीले गरेको संवैधानिक ‘कू’ नसचिञ्जेल कांग्रेस सडक संघर्ष गरिरहन्छ: काेइराला

‘अहिलेको सरकारमा गएर ओलीको मतियार बन्नु हुँदैन’ 

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संवैधानिक ‘कू’ नसचिञ्जेल कांग्रेस सडक संघर्ष गरिरहने बताएका छन्।

संवैधानिक व्यवस्था विपरित संसद् विघटनविरुद्ध कांग्रेसले विराटनगरमा सोमबार आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कोइरालाले सडकबाटै कांग्रेसले मुलुकलाई राजनीतिक निकास दिने बताए।

उनले भने, ‘अधिनायकवादी ओली नेतृत्वको सरकारले सर्वोच्चको फैसलाले पनि निर्वाचनमा जाल जस्तो लाग्दैन त्यसैले संघर्ष जारी राख्नु पर्छ ।’ 

उनले कांग्रेस अहिल्यै सरकारमा गएर ओलीकाे मतियार बन्न नहुने समेत बताए। 

‘राष्ट्रियता मजबुत, लोकतन्त्र जोगाउन र संविधानको संरक्षणको जिम्मेवारी अहिले कांग्रेसको काँधमा छ,’ उनले भने, ‘अहिलेको सरकारमा गएर कांग्रेसाई केपी ओलीको मतियार बन्नु हुँदैन।’ 

बीपी कोइरालाले कम्युनिष्टसँग कहिल्यै सहकार्य नगर्नु भनेको कांग्रेसले सम्झिनु पर्ने बेला आएकाे काेइरालाले बताए।

‘त्यसैले कांग्रेस कसैसँग सहकार्य गरेर नभई आफ्नै आत्मबलले मुलुकलाई निकास दिन सक्षम छ र दिन्छ,’ उनले भने।

मुलुकमा विद्यमान अवस्था निम्तिनुमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि दोषी रहेको कोइरालाको भनाइ थियो । ‘ओली नेतृत्वको सरकारले गरेको यतिधेरै भ्रष्टाचारमा  दाहाल र  नेपालले कहिल्यै विरोध नगरेर मतियार बने। ओलीलाई अधिनायकवादी बनाउनुमा उनीहरुकै भूमिका महत्वपूर्ण थियो,’ उनले भने।

प्रकाशित मिति: : 2020-12-28 15:52:00

प्रतिकृया दिनुहोस्