कास्की जिल्ला फुटबल संघका अध्यक्ष गुरुङलाई १० दिनको कैद सजाय

बिएल संवाददाता

काठमाडाै‌ं

उच्च अदालत पोखराले बैंकिङ कसुरमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई १० दिनको कैद सजाय सुनाएको छ।

न्यायधीशद्वय किशोर सिलवाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलाशले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) अनुसारको कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा १५ (१) बमोजिम १० दिनको कैद फैसला गरेको हो।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा राष्ट्रिय महिला टिमका ३४ खेलाडी पोखरामा रहँदा खाना र बसाइको  २ लाख १५ हजार रुपैयाँको बिल भुक्तानी गर्न २०७६ साल असोज १३ गते गुरुङले ओम गौरा जोस्टेल होटललाई काटेको चेक बाउन्स भएको थियो। 

त्यसपछि होटल सञ्चालक हरिभक्त आचार्यले उच्च अदालतमा जाहेरी दिएका थिए। २०७६ साल माघ १० गते पक्राउ परेका गुरुङलाई अदालतले २ लाख रुपैयाँ धरौटीमा २२ माघमा छाडेको थियो। 

प्रदेश लिगको दौरान सहभागी टिमलाई समान सुविधा नदिएको भन्दै गण्डकी प्रदेशको सभासद राजीव गुरुङ (दीपक मनाङ्गे) ले मिलन गुरुङलाई रंगशालामै मुक्का हानेका थिए। 

मनाङ्गेलाई अदालतले ६ हजार धरौटीमा रिहा गरेको थियाे। यद्यपी मिलान अखिल नेपाल फुटबल संघ (एन्फा) को सानेपामा मंगलबार भइरहेको १९ औं साधारण सभामा कास्की जिल्ला संघकै प्रतिनिधिको हैसियतमा सहभागी छन्।
 

प्रकाशित मिति: : 2021-01-19 16:08:00

प्रतिकृया दिनुहोस्