लुभु ‘आत्महत्या’ प्रकरणमा नयाँ तथ्य : सागरले जेठीलाई डिभोर्स दिएर भित्र्याएका थिए निर्मला !

लोकान्तर

काठमाडाैं

ललितपुरको महालक्ष्मी नगरपालिका– ७ चाँगाथलीमा रहेको घरमा एक दम्पती मृत भेटिए ।

उनीहरूको मृत्युलाई लिएर नयाँ–नयाँ तथ्य बाहिरिने क्रम जारी छ ।

मृत भेटिएका सागर पोखरेलले उनीसँगै मृत भेटिएकी निर्मला पोखरेललाई कान्छी श्रीमतीको रूपमा भित्र्याएको तथ्य खुलेका छ । 

‘मृतक सागरले पहिलो श्रीमतीलाई डिभोर्स दिएर एक वर्षअगाडि कान्छी श्रीमतीको रूपमा भित्र्याएको खुलेको छ,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यले लोकान्तरसँग भनिन्, ‘अहिले परिवार शोकमा भएका कारण थप सोध्न मिलेको छैन ।’

३ जना दिदीहरूपछि जन्मिएका एक्ला छोरा सागरलाई परिवारले धेरै नै माया गरेर राखेको जस्तो देखिएको एसएसपी बज्राचार्यले बताइन् ।

सोमवार बिहान छोरीको घरमा गएका बुवाआमा फ्ल्याटमा फर्किँदा भित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको थियो ।

त्यसलगत्तै बुवाआमाले १०० नम्बरमा फोन गरेर प्रहरीलाई जानकारी गराएपछि प्रहरी केही मिनेटमै पुगेको थियो । 

प्रहरी त्यहाँ पुग्दा दुवैजना विष सेवन गरेको अवस्थामा फ्ल्याटको भुइँमा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

शवनजिकै भाँडोमा बान्ता गरेको र सेल्फसको चक्की (विषादी) फेला परेको एसएसपी किरण बज्राचार्यले बताइन् । 

प्रकाशित मिति: : 2021-01-19 18:44:00

प्रतिकृया दिनुहोस्