भागेर मुम्बई पसेका धनुषाका मनोज बने बलिउड सेलेब्रेटी फोटोग्राफर

सेतोपाटी

काठमाडाैं

बलिउड सेलेब्रेटीलाई अगाडि उभ्याएर आफ्नो क्यामरामा कैद गर्ने सपना थोरैको मात्र पूरा हुन्छ। यिनै थोरैमध्ये पर्छन् धनुषाका मनोज महरा।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाका मनोज विपन्न परिवारमा हुर्केका हुन्। तर उनको मिहिनेत र संघर्षले आज उनलाई बलिउड सेलेब्रेटीमाझ फोटोग्राफरका रूपमा चिनाएको छ।

मनोज बलिउडमा फ्रिल्यान्स फोटोग्राफर हुन्।

'म मुख्यगरी बलिउड सेलेब्रेटीका तस्बिर खिच्छु,' जनकपुरमा सेतोपाटीसँगको भेटमा २७ वर्षीय मनोजले भने, 'बेलाबेला उनीहरूका निजी कार्यक्रम र प्रयोजनको फोटोग्राफीका लागि पनि बोलाउँछन्।'

उनले टेलिसिरियलका मुख्य कलाकारदेखि अमिताभ बच्चन, शाहरूख खान, सलमान खान, इरफान खान, रणवीर कपुर, दीपिका पादुकोण, प्रियंका चोपडा लगायत धेरैजसो चर्चित सेलेब्रेटीका फोटो खिचिसकेका छन्।

'मैले खिचेका फोटा भारतका ठूल्ठूला मिडियाले किन्छन्,' उनी भन्छन्, 'सेलेब्रेटीहरू पनि मैले खिचिदिएका फोटा मनपराउँछन्।'

उनी मासिक ५० हजार भारू कमाउँछन्। यसबाहेक आफूले खिचेका फोटा पत्रपत्रिकालाई बेचेर थप आम्दानी गर्छन्।

प्रकाशित मिति: : 2021-01-20 21:32:00

प्रतिकृया दिनुहोस्