नेकपा फुट्दा दाङका ‘हेभी वेट’ दुईतिर : महरा र शंकर पोखरेलमा कसको पल्ला भारी ?

लोकान्तर

काठमाडाैं

राष्ट्रिय राजनीतिका दुई चर्चित खेलाडी कृष्णबहादुर महरा र शंकर पोखरेलको गृहजिल्ला हो, दाङ ।

पोखरेल हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत हुन् भने महरा पटक–पटकका मन्त्री भइसकेका नेता तथा पूर्व सभामुख हुन् ।

‘हेभी वेट’ नेता दुईतिर बाँडिएपछि दाङको राजनीति पेचिलो र रोचक बनेको छ । 

दाङमा महरा र पोखरेलका अलावा (प्रचण्ड–नेपाल) समूहका लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवाली र विघटित प्रतिनिधि सभामा नेकपाकी सचेतक शान्ता चौधरी पनि छन् । चौधरी हाल ओली समूहमा छिन् ।

नेकपा विभाजन हुनुभन्दा अगाडि पार्टीभित्र विवाद मत्थर भएको मौकामा अध्यक्षद्वय ओली र प्रचण्डलाई सहमत गराएर प्रदेशको राजधानी बुटवलबाट दाङ सारेर पोखरेलले आफ्नो राजनीति केही सुरक्षित गराएका थिए । 

तर, प्रतिनिधि सभा विघटन र पार्टी विभाजनपछि उनीलाई फेरि कडा परिश्रम गर्नुपर्ने अवस्था देखिन्छ ।

त्यसो त प्रतिनिधि सभा सभामुख छँदा संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेकाले महरालाई पनि आफ्नै किसिमको अप्ठ्यारो भने छ ।

अझै रोचक कुरा त के भने महरा र पोखरेलको प्रतिनिधि सभा चुनाव क्षेत्र एउटै हो । वाम गठबन्धन बनाउँदा यी दुई नेताको व्यवस्थापन निकै ठूलो चुनौतीका रूपमा देखिएको थियो ।

पछि पोखरेललाई मुख्यमन्त्री बनाउने घोषणासहित प्रदेश सभामा उम्मेदवारी दिन लगाइएको थियो भने महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

चुनावमा महराले ४० हजार ४२ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत पाएका थिए ।

प्रकाशित मिति: : 2021-01-22 10:33:00

प्रतिकृया दिनुहोस्