बेवारिसे शवको अन्त्येष्टिमा झण्झट : किन गर्न सकिँदैन पहिचान ?

अनलाइनखबर

काठमाडाैं

९ माघ, काठमाडौं । विभिन्न दुर्घटना एवं विपदमा परी ज्यान गुमाएका करिब १५० वटा बेवारिसे शव अहिले पनि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मूर्दाघरमा राखिएको छ ।

विभिन्न ठाउँमा भेटिएका तर पहिचान खुल्न नसकेका शवहरू प्रहरीले सरकारी अस्पतालका मूर्दाघरमा ल्याउने गरेको छ । शिक्षण अस्पतालमा मात्रै दैनिक एउटा बेवारिसे शव आउने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

त्रिवि शिक्षण अस्पतालको मूर्दाघरमा रहेका बेवारिसे शवमध्ये अधिकांश सवारी दुर्घटनामा ज्यान गुमाएका र सडकमा मृत भेटिएकाहरू छन् । पहिचान नखुल्दा ती शव परिवारको जिम्मा लगाउन वा अन्त्येष्टि गर्न नमिलेको अस्पतालका सूचना अधिकारी राजु श्रेष्ठ बताउँछन् । अस्पतालका अनुसार २०० वटासम्म शवलाई सुरक्षित राख्न सक्ने क्षमताको मूर्दाघरमा अहिले १५० शव छन् ।

शव पहिचानको विधि

बेवारिसे अवस्थामा भेटिएका शवको पहिचान गर्न प्रहरीले सामान्यतः दुईवटा विधि अपनाउँछ । पहिचान नखुलेका शवको सनाखत गर्नेसम्बन्धमा मन्त्रिपरिषद्ले तयार पारेको ‘विपद्पछिको शव व्यवस्थापनसम्बन्धी मार्गदर्शन, २०६८’ मा शव पहिचानको दुई विधि उल्लेख छ । मार्गनिर्देशनको बुँदा ९.१ मा शवको सनाखत गर्ने प्राथमिक विधि र ९.२ को बुँदामा शवको सनाखत गर्ने द्वितीय विधिको उल्लेख गरिएको छ । प्राथमिक विधि अन्तर्गत् हस्तरेखा, दाँत, औंठाछाप आदिको सहायताले शव पहिचान गर्ने उल्लेख छ ।

द्वितीय विधि अन्तर्गत् शव अवलोकन गरी पहिचान गर्ने, उनीहरुको कपडाआदिको सहयोगमा शव पहिचान गर्ने उल्लेख छ ।

प्रत्येक बेवारिसे शवको पहिचानमा हदैसम्मको प्रयास गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. सुगमजंग केसी सहित ३ जनाले माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन् । कुनै दुर्घटना वा अज्ञात कारणले ज्यान गुमाएकाहरूलाई हतारमा अन्त्येष्टि गर्नेभन्दा पहिचान खोजेर परिवारलाई शव बुझाउनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: : 2021-01-22 11:04:00

प्रतिकृया दिनुहोस्