'रगतको खोला बगाउछौं तर इटाभट्टा खोल्न दिदैनौँ'

झापास्थित कमल-१ रतनचौनका स्थानीयवासी यतिबेला आन्दोलित बनेका छन्।

केहिवर्षदेखि निरन्तर संघर्ष गर्दै आएका स्थानीयहरु दमकका व्यावसायी गुणराज थापाले बस्तीमा इटाभट्टा खोल्ने भनेपछि आन्दोलित बनेका हुन्। 

थापाले करिब ५ वर्ष अघिदेखी कहिले इटा भट्टा त कहिले सिमेन्ट उद्योग खोल्छु भन्दै आतंकित बनाएको स्थानीय सबिता दाहालले बताइन्। 

'उहाँ यहाँ जसरी उद्योग खोल्छु भनेर लागिरहनु भएको छ, हामी पनि त्यहिँ हालतमा उद्योग खोल्न दिदैनौं, मानव स्वास्थ्यमा असर गर्न दिदैनौं' उनले भनिन्। 

अघिल्ला वर्षमा पनि उद्योग खोल्ने विषयलाई स्थानीयले अवरोध गर्दै आएको वडा अध्यक्ष केदार कटुवालले बताए। 

'कानुनी रुपमा वडा कार्यालयले अनुमति दिएपछि मात्रै काम अगाडी बढ्ने भएकाले अहिलेसम्म वडा र गाउँपालिकामा त्यस्तो कुनै पनि आधिकारिक जानकारी आएको छैन्' उनले भने, 'स्थानीयको अवरोध हुँदाहुँदै वडाले यस्तो वातावरण प्रदुषण हुने किसिमका उद्योग खोल्न अनुमति दिदैन्।' 

आफ्नो हैसियत अनुसारको काम गर्ने हुँ भन्दै डर देखाउने गरेको व्यावसायी थापाका सधिँयार गोमा विष्टले बताइन्।

हात्ती पाल्ने हैसियत भएको मान्छे हुँ, आफुले जानेको यहि छ यहि गर्छु भन्ने, स्थानीयलाई रोजगारी दिने लोभ देखाउने गरेको विष्टको भनाइ छ।

आफ्नो सिमानामा इटा भट्टी खोल्ने कुरामा स्वयं कहिल्यै सहमत नहुने उनले बताइन्।

थापाका अर्का सँधियार पूर्ण धिमालले पनि इटा भट्टी खोल्ने कुरामा असहमति जनाएका छन्। १० वर्ष विदेश बसेर पसिना चुहाएर बनाएको सानो झुप्रो घरसमेत भट्टीको तातोमा डड्ने उनको डर छ। 'गुणराजले केही दिनका लागि भन्दै  मेरो घरमा ५० बोरा सिमेन्ट राखेको छ' उनले भने। 

पटकपटक थापाले यस्ता हर्कत गर्दै गाउँवासीलाई दुःख दिएको भन्दै अब रगतको खोला बगाउन पनि तयार रहेको टोल विकास समितिका अध्यक्ष सन्तोष कटुवालले बताए। 

सो क्षेत्रमा थापाले संरचना निर्माणका लागि आवश्यक पर्ने गिटी, बलुवा, रड, सिमेन्टलगायतका सामान झारिसकेको उनले बताए। 

अझै अटेर गरेर सामान झारे त्यसबाट हुने क्षति व्यहोर्न पनि तयार रहन स्थानीयले थापालाई चुनौती दिएका छन्।

कमल गाउँपालिका र गौरादह नगरपालिका सिमानामा पर्ने सो क्षेत्रमा बाक्लो बस्ती रहेको छ। बस्ती बिचमा खोलिने सिमेन्ट उद्योग, क्रसर, इटाभट्टीलगायतले मानव स्वास्थ्यमा ठुलो असर पार्ने देखिन्छ।

यता, व्यावसायी थापाले भने इटा उद्योग खोलेरै छाड्ने बताएका छन्। हालसम्म कानुनी प्रकृयाहरु केही सुरु नगरेको उनले जानकारी दिए। 

यस विषयमा उद्योग मन्त्रालयमा समेत कुरा भइरहेको छ। अबको दुई/तिन महिनामा कानुनी कुराहरुसमेत पुरा गर्ने उनले बताए। 

'शतप्रतिशत नेपाली कामदार राखेर उच्च प्रविधिको धुवाँरहित उद्योग खोल्ने तयारी गरेका छौं' उनले भने, 'प्रदेश १ मै पुरानो चिम्नी भएको भट्टी  नभई नयाँ प्रविधिको उद्योग खोल्ने हो।' 
 

प्रकाशित मिति: : 2021-01-29 12:50:00

प्रतिकृया दिनुहोस्