काइल मायर्सको डेब्यु टेस्टमै कीर्तिमानी डबल सेन्चुरी, वेष्ट इन्डिज विजयी

Getty

बंगलादेशविरूद्ध आफ्नो डेब्यु टेस्टमै काइल मायर्सले अविजित डबल सेन्चुरी बनाएका छन्।

उनको उत्कृष्ट इनिङका कारण क्यारेबियाली टोली पहिलो टेस्टमा ३ विकेटले विजयी भएको छ।

जितका लागि घरेलु बंगलादेशले राखेको ३ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा मायर्सले अविश्मरणीय प्रदर्शन गरे।

उनकै इनिङका कारण वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा विजय लक्ष्य भेटायो। एसियाली भूमिमा सबैभन्दा ठूलो लक्ष्य पछ्याएको क्यारेबियाली टोलीले इतिहास पनि रच्यो।

एसियाको पिचमा ठूलो लक्ष्य पछ्याएर जित निकालेको यो कीर्तिमान हो। यसअघि यो कीर्तिमान श्रीलंकासँग थियो।

श्रीलंकाले २०१७ मा गालमा भएको टेस्टमा जिम्बाबेविरूद्ध ६ विकेट गुमाउँदै ३ सय ९१ रनको लक्ष्य चुमेको थियो।

यसअघि बंगलादेशले टस जितेर पहिलो ब्याटिङ गर्दै ४ सय ३० रन बनाएको थियो। उत्तरमा वेष्ट इन्डिज २ सय ९५ रनमा खुम्चियो।

बंगलादेशले दोस्रो इनिङमा ८ विकेट गुमाएर २ सय २३ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो। मायर्सले ३ सय १० बल खेल्दा २० चौका र सात छक्का प्रहार गरे।

एसियाली पिचमा चौथो इनिङमा कसैले बनाएको यो ठूलो स्कोर हो। उनले पाकिस्तानी ब्याट्सम्यान युनुस खानको कीर्तिमान तोडेका थिए। युनुसले २०१५ मा श्रीलंकाविरूद्ध पल्लेकल टेस्टको चौथो इनिङमा अविजित १ सय ७१ रन बनाएका थिए।

मायर्सले डेब्यु टेस्टको चौथो इनिङमा बनाएको स्कोर विश्व कीर्तिमानी हो। उनले भारतका अब्बास अली बेगको ६२ वर्ष पुरानो कीर्तिमान तोडेका थिए।

बेगले १९५९ मा इंग्ल्याण्डविरूद्ध म्यानचेस्ट टेस्टमा १ सय १२ रन बनाएका थिए। मायर्स डेब्यु टेस्टमा डबल सेन्चुरी बनाउने विश्वको छैटौं ब्याट्सम्यान पनि बनेका छन्।

यसअघि टिप फोस्टर(इंग्ल्याण्ड), लोरेन्स रोव (वेष्ट इन्डिज), ब्रेन्डन कुरुप्पु (श्रीलंका) म्याथ्यु सिन्कलेयर (न्युजिल्याण्ड) र ज्याक रुडोल्फ (दक्षिण अफ्रिका) ले डेब्यु टेस्टमै डबर सेन्चुरी बनाएका थिए।

वेष्ट इन्डिजले तीन वटा खेलाडीलाई पहिलो पल्ट मैदानमा उतारेको थियो। मायर्सबाहेक एनक्रुमाह बोनर र सेन मोस्लीले पनि डेब्यु गरेका थिए। बुनरले चौथो इनिङमा ८६ रन बनाएका थिए।

प्रकाशित मिति: : 2021-02-07 18:33:00

प्रतिकृया दिनुहोस्