भागरथीको हत्याका पाँच दिन, कहाँ पुग्यो अनुसन्धान?

हिमाल खबर

काठमाडाैं

स्कुल र प्रहरी चाैकी नजिकै मृत भेटिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पाँच दिनसम्म प्रहरीले कुनै ‘क्लु’ पाएको छैन भने परिवारजनले शव बुझ्न मानेका छैनन्।

दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी २१ माघ बिहान सदाझैँ स्कुल गएकी थिइन्। साँझ नफर्केपछि परिवारजनले खोजी थालेका थिए। २२ माघ बेलुकी घरभन्दा तीन किलोमिटर टाढा लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

इलाका प्रहरी कार्यालय, खोचलेक र विद्यालयबाट करिब दुई किलोमिटरको दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। त्यहि राति घटनास्थल पुगेका बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धान भइरहेको बताए।

घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीका लागि दबाब दिन शव नबुझेको भागरथीका आफन्त शिवराज भट्टले बताए। पाँच दिन हुँदा पनि प्रहरीले घटनामा संलग्नको पहिचान समेत गर्न नसकेकाले निर्मला पन्तको जस्तै अपराधि उम्किनसक्ने आशंकाले आफन्तले शव नबुझेर दबाब दिइरहेका छन्।

किशोरीको बुवाको एक महिनाअघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो। उनका दाइ बुवाकाे किरिया सकेर रोजगारका लागि भारत गएका छन्। आमा विक्षिप्त अवस्थामा रहेकी छिन्।

घटनाको दोस्रो दिन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको टोली घटनास्थल पुगेको थयो। उनले अनुसन्धान भइरहेकाले हत्यामा संलग्न चाँडै पक्राउ पर्ने बताए । उनी २३ माघमा सरकारी वकिल, जिल्ला अस्पतालका चिकित्सक, सशस्त्र प्रहरीको टोलीसहित घटनास्थल पुगेका थिए। ‘‘घटनाको अनुसन्धान सहयोगका लागि फरेन्सिक टिम बोलाएका छौँ,’’ प्रजिअ जोशीले भने।
 

प्रकाशित मिति: : 2021-02-08 15:58:00

प्रतिकृया दिनुहोस्