दोस्रो पल्ट १० मतले महाअभियोगबाट जोगिए ट्रम्प

संजोग आचार्य

न्युयोर्क 

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो पल्ट दर्ता गरिएको महाअभियोग प्रस्तावबाट जोगिएका छन्। ६ जनवरीमा अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको हिंसात्मक गतिविधिमा आन्दोलनकारीलाई उकासेको आरोप उनीमाथि थियो।

यही मुद्धामा उनीविरूद्ध दोस्रो पल्ट महाअभियोगको मुद्धा दायर गरिएको थियो। ४ दिन लामो बहसमा उनलाई महाअभियोग लगाउने कि नलगाउने भनेर सिनेटमा मतदान भयो। जसमा ५७ सिनेटरले उनीमाथि हिंसा भड्काएको आरोप लगाएका थिए। ४३ सिनेटर भने ट्रम्पको पक्षमा उभिए। 

अमेरिकामा महाअभियोग लगाउन दुई तिहाई बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। उनलाई कार्यवाही गर्न दुई तिहाई बहुमत पुगेन। आफूविरूद्ध महाअभियोग सिद्ध गर्न नसकेपछि ट्रम्प झनै उग्र बनेका छन्। उनले डेमोक्रेटिक पार्टीको नाम उच्चारण नगरि भने, ‘यतिबेला यो भनिरहँदा मलाई दुःख लागेको छ, अमेरिकाको एउटा पार्टी कानुनी शासनलाई कंलकित गर्न फ्रि पास बाँडिरहेको छ।

कानुन कार्यान्वयन गराउने एजेन्सी (ल इन्फोर्समेन्ट) को अपमान भइरहेको छ। भिडलाई थप भड्काउने काम भइरहेको छ। दंगा मच्चाउने मानिसलाई माफी दिने अभिप्रायले मविरूद्ध विष बमन गरिएको हो।’

ट्रम्पले आफूले जहिले कानुनी शासनको पालना गरेको बताए। ट्रम्पविरूद्ध महाअभियोग पारित हुन ६७ मत आवश्यक थियो। सय सदस्यीय सिनेटमा डेमोक्रेटिक संसदको संख्या ५० छ। ट्रम्पलाई कार्यवाही गर्न १० मत कम भएको थियो। ७ रिपब्लिकन सांसदले पनि ट्रम्पविरूद्ध मतदान गरेका थिए।

यसमा बिल क्यासिडी, रिचर्ड बर्र, मिट रोमनी, सुजेन कोलिङ्स, लिजा मरकोस्की, बेन सेसे र प्याट टुमी समावेश थिए। गत वर्ष पनि ट्रम्पविरूद्ध महाअभियोग अमेरिकी संसदमा पेश गरिएको थियो। त्यतिबेला संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटहरूको बाहुल्यताका कारण पास भएको थियो। तर, सिनेटमा रिपब्लिकनको बहुमतका कारण पास हुन सकने।

प्रकाशित मिति: : 2021-02-14 17:43:00

प्रतिकृया दिनुहोस्