इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा सानदार जित हात पारेको छ।
न्युट्रल भेन्यु टोरिनो इटालीमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० ले पराजित गरेको हो।
युनाइटेडका लागि मिडफिल्डर ब्रुनो फर्नान्डेसले दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सले एक गोल गरे।
युनाइटेडले खेलको २७औं मिनेटमा ब्रुनोको गोलबाट अग्रता लिएको थियो।
५७औं मिनेटमा ब्रुनोले ड्यानियल जेम्सको पासमा व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गर्दै युनाइटेडलाई २–० ले अघि बढाए।
६५औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाए । ९०औं मिनेटमा जेम्सले गोल गर्दै युनाइटेडलाई ४–० को सानदार जित दिलाए।
जितसँगै युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग ओल्डट्राफोर्डमा हुनेछ।